विराटनगर, ११ मंसिर । नेकपा (एमाले)का नेता पर्शुराम बस्नेत (कृष्ण)ले आफू अबिराम हिसाबले जनताको सेवामा खटिने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले निर्वाचनमा आफूलाई प्राप्त भएको मतले निराश नबनाएको र थप उत्साह प्रदान गरेको पनि उल्लेख गर्नु भयो ।
४ गते सम्पन्न निर्वाचनमा बस्नेत मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’बाट प्रदेशसभा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो । उहाँ सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनु भएका नेपाली कांग्रेसका केदार कार्कीसँग पराजित बन्नु भयो । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री कार्की १० हजार ४५० मतसहित विजयी हुनु भएको हो । एमालेका बस्नेतले ९ हजार २७३ मत ल्याउनु भयो । कार्की र बस्नेतबीचको मतान्तर १ हजार १७७ छ । ‘निर्वाचन एउटा प्रतिस्पर्धा हो । त्यसमा हारजित स्वभाविक प्रक्रिया हो,’ बस्नेतले भन्नु भयो, ‘तर जनताले मप्रति देखाएको अपार मायाले मलाई उत्साहित बनाएको छ । चुनाव हारे पनि जनताकै बीचमा रहेर काम गर्छु ।’ जनताको माया अझै धेरै पाउने हिसाबमा आफू सक्रिय भएर काम गर्ने र जनताकै सेवामा अहोरात्र खटिने उहाँ बताउनु हुन्छ । ‘जनताको सशक्त पार्टीका रूपमा एमालेलाई स्थापित गराउने अभियानमा लाग्छु । अझै जनताको विश्वास जित्ने गरी अगाडि बढ्छु,’ बस्नेतले भन्नु भयो, ‘जनताको मन जित्ने खालका कार्यक्रम चलाउने योजना छ ।
अत्यन्तै सम्मानजनक मतभार प्रदान गर्ने जनताप्रति सधैँँ म ऋणि छु ।’ निर्वाचनको मैदानमा आफू उपविजेता भए पनि मतदाताले विश्वास गरेर मत दिने कुरा चानचुने विषय नभएको उहाँले बताउनु भयो । ‘बहुदलीय प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो । जहाँ जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्ने अवसर प्राप्त गर्दछन्,’ बस्नेतले भन्नु भयो, ‘अहिलेको चुनाव मेरा लागि एउटा ठूलो अवसर र सिकाइ बन्यो । आफ्नो अमूल्य मत दिनुहुने सबैप्रति उच्च सम्मान र आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु ।’ आफू सदैव जनताकै माझमा रहेर राजनीतिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता बस्नेतले दोहोर्याउनु भयो । उहाँले मतदातालाई भन्नु भयो ‘म तपाईंहरुकै सुख, दुःखको साथी बन्ने छु । तपाईंहरुकै सेवक हुन चाहन्छु ।’
नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी मोरङ ६ ‘ख’ले आज विराटनगरमा आयोजना गरेको धन्यवाद ज्ञापन तथा पत्रकार भेटघाट कार्यक्रममार्फत उहाँले निर्वाचन सफलतापूवर्क सम्पन्न गराउन भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पर्यवेक्षक, नागरिक समाज, मतदाता सबैलाई विशेष धन्यवाद दिनु भयो । साथै चुनावी अभियानमा सहयोग पुर्याउने पार्टीका नेता कार्यकर्ता, समर्थक, शुभचिन्तक लगायतलाई धन्यवाद दिनु भएको छ । बस्नेतले प्रतिस्पर्धामा विजयी हुने गठबन्धनतर्फका उम्मेदवार केदार कार्कीलाई बधाईसहित सफल कार्यकालको शुभकामना पनि दिनु भयो ।