मोरङमा प्रदेशसभातर्फ ६ क्षेत्रको मतगणना सकियो

विराटनगर, ८ मंसिर । प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा हालसम्म ५ वटाको मतगणना सकिएको छ । गणना सकिएकामध्ये ३ वटामा नेपाली कांग्रेस, २ वटामा एमाले र एउटामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । घोषणा गर्न बाँकी रहेका क्षेत्रमा समानुपातिकतर्फको मतगणना भइरहेको छ ।

समानुपातिकको गणना सकिएपछि मात्रै अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी छ । कतिपय मतदाताले झुक्किएर प्रत्यक्षतर्फको मतसमेत समानुपातिकको पेटिकामा खसालेका कारण केही मत तलमाथि पर्नसक्ने भएकाले गणना भइसकेका क्षेत्रको नतिजा तत्काल सार्वजनिक नगरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समानुपातिकको गणना भइसकेपछि एकैपटक सार्वजनिक गर्ने तयारी छ । निर्वाचन अधिकृतको कार्यालयले मोरङको निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ र ४ ‘क’को मात्रै अन्तिम परिणाम घोषणा गरेको छ ।

५ ‘क’मा कांग्रेसका गयानन्द मण्डल गनगाईं निर्वाचित हुनु भएको छ । उहाँले १४ हजार ८४३ मत ल्याएर प्रदेशसभाको यात्रा तय गर्दा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सन्तोषकुमार साहले ९ हजार ४ सय २ मत मात्रै ल्याउनु भयो । त्यस्तै ४ ‘क’बाट एमालेका जयप्रकाश चौधरी निर्वाचित हुनु भएको छ । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेलाई पराजित गर्दै विजयी हुनु भएका चौधरीले १५ हजार ४६५ मत प्राप्त गर्नु भयो ।

घिमिरेले १५ हजार ५८ मत ल्याउनु भयो । मोरङको १ ‘क’बाट एमालेका उमाकान्त गौतम निर्वाचित हुनु भएको छ । उहाँले १३ हजार ७२ मत प्राप्त गर्नु भयो । निकटतम प्रतिद्वन्द्वी कूलप्रसाद साम्बाले ९ हजार ६७६ मत मात्रै प्राप्त गर्नु भएको छ । ३ ‘क’मा कांग्रेस मानबहादुर लिम्बू विजयी हुनु भएको छ । उहाँले १८ हजार २८६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका दिलिपकुमार राईले १३ हजार ८५८ मत ल्याउनु भयो । मोरङ ५ ‘ख’बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल १६ सय १०२ मतसहित निर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का जयराम यादवले १० हजार ८२४ मत मात्रै ल्याउनु भयो ।

यादव प्रदेश १ का स्वास्थ्य मन्त्री हुनुहुन्छ । मोरङ ६ (क) मा माओवादी केन्द्रका जीवन आचार्य निर्वाचित भएका छन् । उनले एमालेकी रिता न्यौपानेलाई पराजित गरे । प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्रमध्ये ६ वटाको गणना जारी छ ।