विराटनगर, ४ मंसिर । आज सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणनाका लागि मोरङमा चार स्थानबाट मतगणनाको तयारी शुरु गरिएको छ । मतगणना उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगरमा गरिने भएको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।
मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । मोरङ क्षेत्र नं. १ को मतगणना उर्लाबारी नगरपालिका, क्षेत्र नं. २ को रतुवामाई नगरपालिका (विश्वनाथ मन्दिर), क्षेत्र नं. ३ को बेलबारी नगरपालिका (भगवती माविमा) र निर्वाचन क्षेत्र नं. ४, ५ र ६ को विराटनगरस्थित आदर्श माविमा गणना हुने भएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा तीन वटा कोठा मतगणना स्थल बनाइएको र आवश्यकता परे अन्य थप गरिने मुख्य निर्वाचन अधिकृत दुर्गा प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । एक मतगणना स्थलमा ६ गणकको टोली रहनेछ ।
मतगणना सुरु भएको तीन दिनभित्र प्रत्यक्ष तर्फको मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको लक्ष्य रहेको छ ।