प्रदेश १ : ६० प्रतिशत मत खस्यो

विराटनगर, ४ मंसिर । प्रदेश १ मा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ ।
साँझ ५ वजे सम्म करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए ।

कुल खसेको मतको अन्तिम विवरण संकलनको काम भईरहेको उनले बताए । अधिकारीका अनुसार प्रदेशभर कतैपनि पनि मतदान स्थगित भएन । अधिकारीले भने,‘ छिटपुट घटना भएका स्थानहरुमा पनि मतदान सुचारु ग्रिएको थियो ।’ समग्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको अधिकारीले बताए ।

प्रदेशमा १ हजार ८ सय ९७ वटा मतदानस्थल र ४ हजार ९९ वटा मतदान केन्द्र रहेका थिए । मतदान सम्पन्न गराउन प्रदेशमा ३२ हजार ७९२ जना कर्मचारी र १६ हजार ३९६ जना स्वयंसेवक परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै सुरक्षाका लागि प्रदेश १ मा नेपाल प्रहरी र म्यादी ३१ हजार १२२ जना परिचालन भएका छन् ।