टाइफाइडविरुद्धको राष्ट्रिय अभियान आजदेखि सुरु हुदै

विराटनगर, २५ चैत । सरकारले आजदेखि राष्ट्रिय अभियानका रूपमा टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ ।
आजदेखि वैशाख १८ सम्म सञ्चालन गरिने खोप कार्यक्रममा ७५ लाख बालबालिका लाभान्वित हुनेछन । १५ महिनामाथिका र १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइँदैछ ।

सरकारले अभियान सकिएपछि यस खोपलाई नियमित खोपमा संलग्न गराउने उद्देश्य लिएको छ । योसँगै नेपालमा १२ वटा खोप नियमित खोपका रूपमा रहनेछन्। साथै कोभिड महामारीको समयमा नियमित खोप लगाउन छुटेका बालबालिकालाई यस खोपसँगै समेट्ने उद्देश्य लिएको छ ।

यस अभियानमा ५६ हजार ४२९ खोप सेसन संख्या सञ्चालन हुने अनुमान गरिएको छ भने खोप दिने स्वास्थ्यकर्मीको संख्या १० हजार र स्वयंसेवकको संख्या १ लाख १२ हजार ५ हुने जनाइएको छ ।

राष्ट्रिय खोप अभियानको शुभारम्भ बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले सुरु गरिसकेका छन ।