विराटनगर १ मंसिर । मोरङको कटहरीमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार रहेका अमनलाल मोदी र भीम पराजुलीलाई प्रश्न गर्नेलाई कुटपीट गरिएको छ ।
बुधबार कटहरी ३ चम्राहीस्थित मदरसामा आयोजित चुनावी सभामा उमेदवारलाई प्रश्न गर्ने २१ वर्षीय शंकरकुमार साफीलाई कार्यकर्ताहरुले कुटपिट गरेका हुन । प्रतिनिधिसभा उमेदवार अमनलाल १० वर्ष सांसद भएर के के विकास गर्नु भयो र प्रदेशसभा उम्मेदवार भीम पराजुलीलाई ५ वर्ष विराटनगरको मेयर भएर के–के गर्नुभयो ?’ भन्ने प्रश्न साफीले गरेका थिए । नचिनेको युवकले प्रश्न गरेको भन्दै पार्टी कायृकर्ताले ती युवकलाई कुटपीट गरेका हुन ।
सुनसरीको कोशी गाउंपालिका ७ हरिपुर घर भई कटहरीमा डेरामा बस्दै टिय्ुसन पढाउँदै आएको साफीलाई कटहरी ३ का वडाध्यक्ष जदुलाल कामत सहितका ४, ५ जनाले कुटपिट गर्दै कार्यक्रमबाट बाहिर निकालेका थिए । साफीले भने ‘पिट्दापिट्दै उनीहरुले फेरी प्रश्न गर्छस् ? भनेपछि मैले पनि गर्छु भने ।’ कुटपिट सुरु भएपछि कार्यक्रम हुन सकेन ।
घटनापछि गठबन्धनका कार्यकर्ताले साफीलाई प्रहरीमा बुझाएका थिए । उनलाई नियन्त्रणमा नलिई छाडिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । नौलो मानिसले प्रश्न गरेकै भरमा र कुटपिट गर्नु दुःखदायी भएको नेकपा एमाले कटहरीका अध्यक्ष राम राजवंशीले बताए ।