सत्ता गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ : ओली

विराटनगर, ३० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको आयु मंसिर ४ सम्म रहेको बताएका छन । निर्वाचनपछि गठबन्धनको काम सकिने उहाँको भनाइ छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयोे,‘गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ ।’ मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्ने उहाँको दाबी छ । उहाँले भन्नुभयोे, ‘निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्छ, अनि गठबन्धनको के काम ?’ एमाले नेतृत्वको सरकार बनेपछि माओवादी शासकीय स्वरुप परिवर्तनको माग गर्दै सडकमा आउला नि भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले निर्वाचनपछि माओवादीको अस्तित्व सकिने बताउनुभयो । मंसिर ४ पछि माओवादी सडकमा जाने स्थितिमा नहुने उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले भन्नुभयोे, ‘माओवादीले ५ सिट ल्याउला । खस्किएको मानसिकतामा के सडकमा जाला र ?’ शासकीय स्वरुप परिवर्तन गर्न सकिने उहाँले बताउनुभयो । नेपालमा एउटै राजनीतिक दलको बहुमत नपुग्दा देशमा जहिल्यै अस्थिरता हुने गरेको उहाँले बताउनुभयो । बहुमत नआउने र अस्थिरता भइरहने खालको प्रणालीका कारण अस्थिरता हुने गरेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयोे, ‘हाम्रो जननी बेलायत हो तर हामी उ भन्दा फरक ढंगले चलिरहेका छौं ।’

बहुमतीय प्रणालीका कारण कसैको पनि बहुमत नआउने र हङ पार्लियामेन्टको अवस्था आउने गरेको उहाँले बताउनुभयो । यसका कारण सधैं अस्थिरता निम्याइरहने काम भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयोे, ‘हङ पार्लियामेन्ट हुँदा उद्देश्य केन्द्रित भन्दा पनि स्वार्थ केन्द्रित राजनीति हुने गरेको छ ।’