राप्रपा समानुपातिकमा पहिलो हुन्छ : पौडेल

विराटनगर २८ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता उद्धव पौडेलले समानुपातिकमा राप्रपा पहिलो पार्टी बन्ने दावी गर्नु भएको छ ।

विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले राप्रपा आगामी संसदमा निर्णायक र हस्तक्षेपकारी शक्तिका रुपमा आउने दावी गर्नुभयो । प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार तथा राप्रपा कार्यसम्पादन समितिका सदस्य समेत रहनुभएका पौडेलले प्रत्यक्षमा २० सिट जित्ने दावी गर्नुभयो । देशभर राप्रपाप्रति जनताको लहर बढेको उहाँको भनाई छ । ठुला दल र नेताहरुको गलत नीति, शैली र अकर्मन्यताका कारण आम युवा वर्गमा राजनीति प्रति वितृणा जागेको उहाँको भनाई छ । नेता पौडेलले भन्नुभयो,‘ राप्रपाको नेतृत्व परिवर्तन पछि यूवाहरुको आकर्षण यता बढेको छ ।’ राप्रपाले निर्वाचनमा चामत्कारिक परिणाम निकाल्ने उहाँले बताउनुभयो ।

पुराना शक्तिहरुमा मतदाताको भरोसा टुटेको र नयाँ समूहसँग विश्वास पैदा नभईसकेको अवस्था रहेकाले राप्रपाले चामत्कारिक परिणाम निकाल्ने उहाँको दावी छ । उहाँले भन्नुभयो,‘ मतदाताको निर्विकल्प छनौट राप्रपा हो, राप्रपा शासकीय स्वरुप, शिक्षा, स्वास्थ्य, न्याय रोजगारी सिर्जना, पूर्वाधार निर्माण, विकास, समृद्धि जस्ता भरपर्दो विकल्प अघि सारेको छ ।

प्रतिनिधिसभाको १४२ र प्रदेशसभाको २८६ निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको छ ।