विराटनगर महानगरद्वारा डेंगु नियन्त्रण अभियान तीव्र

विराटनगर, २८ कात्तिक । विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियानलाई तीव्रता दिएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले स्प्रे गर्ने अभियानलाई तीव्रता दिएको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिको उपस्थितिमा वडा नम्बर ४ बाट स्प्रे गर्न सुरु गरिएको थियो । मेयर नागेश कोइरालाको निर्देशनमा स्प्रे गर्ने अभियानलाई तीव्रता दिइएको स्वास्थ्य महाशाखा प्रमुख अलिले जानकारी दिनुभयो । हरेक दिन २ वटा मेसिनबाट स्प्रे गर्ने कार्य भइरहेको छ । महानगरका १९ वटै वडामा स्प्रे गरिनेछ । यसअघि महानगरले स्वास्थ्यकर्मीलाई प्रशिक्षण, सरोकारवालाहरुसित छलफल, हरेक वडामा महिला स्वयम्सेविकाका र जनप्रतिनिधिहरुलाई अभिमुखीकरण सञ्चालन गरिएको थियो ।

हरेक हप्ता सबै वडामा डेंगुको संक्रमण सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन भइरहेको छ । गमलाको पानी, टायर, जमेको पानी, कुलर र एसीको पछाडिको पानीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टेले फूल पार्छ । जसको टोकाइबाट डेंगुको संक्रमण हुन्छ ।

हालसम्म महानगरमा १४८ जना डेंगुका बिरामी फेला परेका छन् । महानगरको सक्रियताका कारण विगतमा भन्दा डेंगुको संक्रमण कम हुँदै गएको अलिको दाबी छ ।