साढे ६ महिनाको आयात धान्ने डलर छ : नेपाल राष्ट्र बैंक

विराटनगर, २४ चैत । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका वस्तु आयातमा रोक लगाएको बताउनु भएको छ ।

प्रवक्ता भट्टले शोधनान्तर घाटा बढ्दो रहेको र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा कमी हुँदै गएकाले केन्द्रीय बैैंकले यस्तो कदम चालेको स्पष्ट पार्नुभयो । मुलुकको अर्थतन्त्रमा थप चुनौती आउन नदिन राष्ट्र बैंकले बाह्य क्षेत्र व्यवसथापन गर्न केही वस्तुको आयातमा रोक लगाउनु परेको प्रवक्ता भट्टको भनाइ थियो । उनले अहिले सबैभन्दा ठूलो चुनौती विदेशी मुद्रा सञ्चिति व्यवस्थापन रहेकाले समयमा नै सतर्कता अपनाउन खोजेको बताउनुभयो ।

राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रमा संकट देखिएर विलासिताका वस्तु आयातमा रोक नलगाएको भन्दै प्रवक्ता भट्टले संकटबाट जोगाउनको लागि एउटा टुल्स प्रयोग गरिएको बताउनुभयो । उहाँले बाहिर हल्ला आएजस्तो अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्था नरहेको दाबी गर्नुभयो । राष्ट्र बैंकसँग करिब साढे ६ महिनाको लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने बताउनुभयो । उहाँले श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको स्पष्ट पार्नुभयो ।

श्रीलंकाको कुल गार्हस्थ्य उत्पादनको ११७ प्रतिशत विदेशी ऋण भएकाले अहिलेको अवस्था आएको प्रवक्ता भट्टको भनाइ छ ।