पर्शुराम बस्नेत : जहाँ नेतृत्व, त्यहीँ सफल

विराटनगर– ०४८ सालमा नेकपा एमालेमा आबद्ध पर्शुराम वस्नेत (कृष्ण) ले ३० वर्षपछि लाभको पद पाए । त्यो पनि ६ महिना मात्रै ।

०७८ असोज २४ मा प्रदेश १ सरकार खेलकुद विकास बोर्डको सदस्य सचिव बने । उनी सदस्य सचिव बनेको झण्डै एक महिना पछि सदस्य सचिवमा नियुक्त गर्न पार्टी नेकपा एमाले सरकारबाट हट्यो । एक महिना एमाले नेतृत्वको सरकारमा बस्नेतले खेलकुद विकास बोर्डलाई संस्थागत गरे । छुट्टै कार्यालय बनाए । व्यवस्थित पनि बनाए । बोर्डमा रहेर जति काम गरे उनले एमाले नेतृत्वकै सरकारको समयमा गरे । एक महिना पछि गठबन्धनको सरकार बन्यो । सरकारको निरन्तरको ध्यान नै बस्नेतको बर्खास्ती थियो । परिपक्व निर्णयका आधारमा सरकारले वस्नेतलाई नियुक्त गरेकाले जसरी प्रदेश सरकारले सञ्चार प्रतिष्ठान, प्रदेश पर्यटन बोर्डमा एमालेबाट नियुक्त भएकाहरुलाई हटायो । त्यति छिटो बस्नेतलाई हटाउन सकेन ।
करिव ६ महिना खेलकुद बोर्डको सदस्य सचिवमा बस्नेत रहे । उनले प्रदेशको खेलकुदलाई उचाई दिन शुरु गरिसकेका थिए । १४ वटै जिल्ला खेलकुदमा पदाधिकारी नियुक्त भएर प्रदेशभर खेलकुदका गतिविधि चलायमान भईसकेका थिए । आफु अनुकुलको नेतृत्व नहुँदा सरकारले खेलकुद बोर्डलाई रकम निकाशा रोकेको थियो । तर उनले हिम्मत हारेनन् । बोर्डका गतिविधिहरुलाई चलायमान बनाए । उनी बोर्डमा हुँदा जति चलायमान भएको थियो खेलकुद बोर्ड अहिले त्यती हुन सकेको छैन । बोर्डका एक कर्मचारी भन्छन्,‘ पर्शुराम जस्तो नेतृत्व हुनुपर्ने रहेछ , संस्थाको विकास हुनका लागि ।’ उनले भने,‘उहाँको कामको गर्ने आँट देखेर हामीलाई काम गर्न उर्जा मिल्थ्यो । ’ उर्जावान नेतृत्व भएका वस्नेतले ५ वर्ष खेलकुद बोर्डको नेतृत्व गरेको भए कायापलट गर्ने रहेछन् उनले भने ।

पर्शुराम वस्नेत ३१ वर्षे पार्टी राजनीतिमा ६ पटक पार्टीका विभिन्न संगठनको नेतृत्वमा पुगे । एमाले क्षेत्रीय कमिटी संयोजक, क्षेत्रीय कमिटी इन्चार्ज, युथ फोर्स मोरङ अध्यक्ष, यूवा संघ कोशी संयोजक, एमाले प्रदेश कमिटी यूवा इन्चार्ज र अहिले एमाले निकट नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष ।

एमालेको नगर कमिटी सदस्यबाट राजनीतिमा लागेका बस्नेतले ६ पटक पार्टीको इन्चार्ज, युथ फोर्स अध्यक्ष, इन्चार्ज र खेलकुद महासंघको अध्यक्षको नेतृत्व सम्हालिरहँदा कहिल्यै पनि संगठनको शाख गिर्न दिएका छैनन् । इन्चार्ज, अध्यक्ष बाहेक १९ पटक उनी पार्टी संगठनको विभिन्न पदमा रहेर काम गरे । उनी जुन पदमा रहेर काम गरे, त्यहाँ उत्कृष्ट कार्यसम्पादन गरेका छन् । एमाले विराटनगर महानगर कमिटीका सचिव रोहित कोइरालाले भने,‘ पर्शुराम कमरेड पार्टी संगठनको जुन भूमिका, जिम्मेवारीमा भएपनि कार्यसम्पादन उत्कृष्ट छ ।’ उहाँको कार्यसम्पादन गर्ने शैली आफुलाई मन पर्ने उनको भनाई छ । उनले भने,‘ हरेक जिम्मेवारी, अवसरलाई उहाँले राम्रोसँग जिम्मेवारी बहन गर्नुहुन्छ ।’ जिम्मेवारीलाई सहज रुपमा सम्पादन गर्ने गरेकै कारण पार्टी नेतृत्वले पनि उनलाई बढी खोज्ने गरेको छ ।

उच्च मनोवलका साथ संगठनमा काम गर्ने बानीका कारण वस्नेतले पार्टीको जुन भूमिका र जिम्मेवारीमा रहेर काम गरेका छन् । सवैमा सफल भएका छन् । संगठनलाई सही नेतृत्व दिने कामका पर्शुराम सफल व्यक्ति भएको उनी निकटकै नेताहरु बताउँछन् । वस्नेत युथ फोर्सको अध्यक्ष भएका बेला एमालेका युवाहरुलाई उनले संगठित गरेका थिए । उनी देशभरकै युथ फोर्सका अध्यक्षहरु मध्ये उत्कृष्ठ भएका थिए । एमालेको युवक संगठनलाई उनी अध्यक्ष भएको समयमा शशक्त बनाएका थिए । अहिले मोरङका धेरै स्थानीय तहमा उनले संगठित गरेका यूवाहरु लोकप्रिय मतका साथ विजयी भएर पालिकाका जनप्रतिनिधि भएका छन् ।

वस्नेत आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ ६ (ख) मा एमाले उम्मेदवार छन् । उनले आफ्ना प्राथमिकतामा ५ वटा कुरालाई जोड दिएका छन् । एक परिवार एक रोजगार, प्राविधिक शिक्षामा विशेष जोड, नहरको दुवैतिर बाईपास सडक, प्रदेश स्तरिय मदर्शा बोर्ड गठन, आन्तरिक धार्मिक तीर्थाटनको व्यवस्थापन उनको चुनावी प्रतिबद्धता हो । बस्नेतले भने,‘ म निश्चित लक्ष्यका साथ अघि बढ्ने व्यक्ति हुँ, मेरो चुनावी प्रतिबद्धता आश्वासनका लागि मात्रै हैन ।’ पुरा गर्ने प्रतिबद्धता लिएको र त्यो पुरा गरेर छाड्ने उनको दावी छ ।