निर्वाचन बिथोल्न खोज्ने जो कोहीलाई कारवाही गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

विराटनगर २५ कात्तिक । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरुलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ । आयोगले कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो ।

आयोगले कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै पनि व्यक्ति र तत्वहरुलाई कारवाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो । शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानूनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरुले पूर्ण रुपमा पालना गर्न र गराउन निर्देशन दिनुभयो । उहाँले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिइ निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारवाही प्रारम्भ गर्न निर्देशन दिनुभयो । उहाँले कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरु हुने भएको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनुभयो । उहाँले धेरै मतदान हुनु राम्रो भएपनि हँुदै नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी र निर्वाचनप्रतिको अवज्ञा भएकाले त्यसतर्फ शतर्कता अपनाउन आग्रह गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुन सक्ने कुरालाई ध्यानमा राखि सुरक्षा निकायसँग समन्वय गरी त्यस्ता गतिविधि हुन नदिन पनि आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरुको पनि उत्तिकै महत्वपूर्ण भुमिका हुने भएकाले निर्वाचन कार्यलाई निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा सहयोग हुने अपेक्षा गरेको बताउनुभयो । उहाँले निर्वाचन आयोगले निर्वाचनलाई भयरहीत र निष्पक्ष बनाउन स्थानीय तहबाट नै स्वयंसेवकहरु परिचालन गर्ने पनि बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले आयोगले अहिले सबै निर्वाचन अधिकृतको कार्यालयबाट मतदान कार्यमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरुको नियुक्ति भइ तालिम दिने प्रक्रिया प्रारम्भ भइसकेको बताउनुभयो ।