२० लाख डोज कोभिड १९ विरुद्धको खोप खेर जाने

विराटनगर, २४ चैत । सरकारले चैत मसान्तभित्रमा सबै लक्षित समूह (१८ वर्षभन्दा माथि) लाई खोप लगाइसक्ने भनेको थियो । लक्ष्यअनुसार एक करोड ९९ लाख २२ हजारभन्दा बढीलाई चैत मसान्तभित्र खोप लगाउनु पर्ने छ । तर, हालसम्म ८२.८ प्रतिशतले पूर्ण मात्रा र ९३.७ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् ।

लक्ष्यमा पुग्न सरकारले अब एक हप्तामा ३४ लाख डोज खोप लगाउनु पर्ने छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन शाखाको तथ्यांक अनुसार एस्ट्राजेनिका १६ लाख ५७ हजार ३६२ र जोन्सन एन्ड जोन्सन २ लाख ८६ हजार २५३ डोज खोप भण्डारणमा छ । यो खोपको म्याद वैशाख दोस्रो सातासम्म छ । व्यवस्थापन शाखाका कर्मचारीका अनुसार म्याद गुज्रिन लागेको खोप अधिकांश प्रयोगमा आउने देखिँदैन । एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सन खोप अनुदानमा आएको खोप हो । अनुदानमा आए पनि खोप व्यवस्थापनका लागि राज्यको ढुकुटीबाट करोडौं खर्च भइरहेको छ ।

पछिल्ला दिनमा खोप अभियानले अपेक्षाकृत गति लिन नसक्दा सवा करोडभन्दा बढी डोज कोरोना खोप सरकारी भण्डारण कक्षमै थुप्रिएकोे छ ।

व्यवस्थापन शाखाको तथ्यांक अनुसार हाल भण्डारणमा १ करोड २३ लाख ३१ हजार १८९ खोपको मौज्दात छ । जसमध्ये कोभिसिल्ड २६ लाख ६० हजार एक सय ७० मात्रा, भेरोसेल ४५ लाख ७१ हजार २०४ मात्रा मौज्दात छ । जोनसन एण्ड जोनसन २ लाख ८६ हजार २५३ मात्रा, एष्ट्रेजेनेका १६ लाख ५७ हजार ३८२ मात्रा, फाइजर १५ लाख ३ हजार ६९० मात्रा र मोर्डना खोप १६ लाख ५२ हजार ५१० मात्रा खोप मौज्दात छ ।