विराटनगर १८ कात्तिक । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभामा उमेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गरेका छन् ।
पासवानले प्रतिनिधिसभामा कांग्रेसका कोइरालालाई समथर्न गर्ने निर्णय गर्दै आफ्नो उमेदवारी निष्क्रिय बनाएको बताएका छन् ।
पासवानले प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । अब आफू र आफ्नो पार्टीका सबै कार्यकर्ता कांग्रेस उमेदवार कोइरालाको समर्थनमा चुनावी अभियानमा सक्रिय हुने उनले बताए ।
“नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई मोरङ बहुजन शक्ति पार्टीले समर्थन गर्न पाउँदा हामी गौरवान्वित भएका छौ,” विज्ञप्तिमा भनिएको छ, “नेपाल बहुजन शक्ति पार्टीका हामी सबै प्रतिनिधिहरू आजैबाट डा. शेखर कोइरालाको चुनावी अभियानमा जुटेर उहाँलाई अत्यधिक मतबाट विजय गराउन सक्रिय भएर लाग्नका लागि पनि आह्वान गर्दछु ।”
पासवानले कोइरालाको चुनावी अभियानमा समेत सक्रियताका साथ लागिपर्ने बताएका छन् ।