वडाध्यक्ष पोखरेलको नेतृत्वमा छठ पुजाका लागि ७ ठाउँको सफाई

विराटनगर १३ कात्तिक । विराटनगर ८ का जनप्रतिनिधिहरुले छठ पुजा गर्ने वडावासीलाई लक्षित गरि जलासय सम्म पुग्ने बाटो निर्माण तथा सरसफाई गरेका छन् । छठ पुजाका लागि सिंगिया खोला सम्म आउ जाउका लागि बाटो निर्माण गर्नुका साथै खोलाको सफाई गरिएको वडाध्यक्ष राम पोखरेलले बताए ।

सिंघिया खोला बग्ने जिल्ला कारागार पछाडी, सुकुम्वासी टोल, पशु बधशाला, श्रद्धाआश्रम, शुशिल कोइराला फाउण्डेसन, छठी मन्दिर र विराटनगर ८ र १४ को सिमाना रहेको पुलको नजिकको सरसफाई गरिएको उनले बताए । वडाध्यक्ष पोखरेलका अनुसार छठको सांस्कृतिक कार्यक्रमका आउ जाउ गर्न सहजताका लागि बाटो निर्माण बाल गोपाल मार्गमा रहेका खाल्डा खुल्डी पुर्ने काम गरिएको छ ।

हरेक वर्ष छठ पुजा गर्दै आएका विराटनगर ८ का मनोज महतो, राजु मरिक, किरण राजवंशी, मो. शमशेर, हिरा राय, रामराज पुरी, चन्दकुमार गुप्ताले यसअघिका जनप्रतिनिधिबाट यस्तो काम कहिल्यै नभएको बताए । वडामा नयाँ जनप्रतिनिधि आएपछि आफुहरुलाई छठ पुजा गर्नका लागि बाटो तथा सफाईमा धेरै सहयोग गरेको उनीहरुको भनाई छ । स्थानीय राजु मरिकले भने,‘ वडाध्यक्ष पोखरेल सहितको टिम वडाको विकासका लागि धेरै सक्रिय छ ।’

वडाध्यक्ष पोखरेल, सदस्यहरु भुवन राजवंशी, ताराकुमार राय, पवित्रा विश्वकर्मा र मो. अब्बास सहितको टोली बाटो निर्माण तथा सरसफाईमा जुटेको थियो ।