विराटनगर, ११ कात्तिक । मोरङ ६ (क) का गठबन्धन उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का ज्वाइँ जीवन आचार्यले चुनावी कार्यक्रममा महिलालाई होच्याएर संवोधन गरेको भन्दै आलोचना भएको छ ।
आफ्नो निर्वाचन क्षेत्र बुढीगंगामा शुक्रबार प्रतिनिधिसभाका उम्मेदवार डा. शेखर कोइराला उपस्थित कार्यक्रममा आचार्यले, ‘ हामी च्यातिएका लुगा देखाउन आएका हैनौं । हामी महिला भनेर भोट माग्न आएका होइनौं ।’ भन्दै भोट मागेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सर्वत्र आलोचना शुरु भएको छ ।
माओवादी केन्द्र निकटका व्यक्तिहरुले सामाजिक सञ्जालमा अचार्यले संवोधन गरेको भिडियो राखेका थिए । महिलालाई होच्याउने गरिको संवोधन भएको भन्दै आलोचना भएपछि अहिले सो पोष्ट हटाईएको छ ।
मोरङ ६ (क) मा एमालेबाट रीता न्यौपाने उम्मेदवार छिन् । न्यौपानेलाई लक्षित गरि आचार्यले संवोधन गरेपछि महिला अधिकारकर्मीहरुले पनि यसको विरोध जनाएका छन् । महिलाले महिला भनेर भोट माग्न नपाईने भन्दै प्रश्न गरेका छन् । महिलालाई होच्याउने, अपमान गर्ने कसैलाई पनि छुट नभएको अधिकारकर्मीहरुले बताएका छन् । जिल्ला समन्वय समिति मोरङको उपप्रमुख उषा झाले महिलालाई अपमान हुनेगरिको भाषण गर्दैमा चुनाव नजितिने बताईन ।
०७४ मा नेपाली कांग्रेसका चुमनारायण तबदारसँग पराजित भएका आचार्य यस पटक एमाले उम्मेदवार न्यौपानेसँग प्रतिष्पर्धा गर्दैछन् । स्थानीय समेत रहेकी एमाले उम्मेदवार न्यौपानेको पक्षमा माहौल बन्दै गएपछि माओवादी उम्मेदवार आचार्य अत्तालिएको स्थानीयको भनाई छ । माओवादी उम्मेदवार आचार्य अधिकांश समय काठमाण्डौंमा बस्ने गर्दछन् ।