संगितकारहरुको प्रदेशस्तरीय समिति गठन

विराटनगर, ७ कात्तिक । नेपाल संगितकार संघको प्रदेश स्तरीय भेलाले सो संघको प्रदेश १ समिति गठन गरेको छ । गत शनिबार झापाको दमकमा आयोजित भेलाबाट अध्यक्षमा विशाल राई चयन हुनुभएको छ ।

निर्वाचित कार्य समितिको उपाध्यक्षमा जीवन गुरुङ, महासचिवमा भूपेन्द्र राई, सचिवमा नन्दु गुरुङ कोषाध्यक्षमा कमला खनाल हुनुहुन्छ । समितिका सदस्यहरुमा अशोक थापा, ज्ञानी खड्का, खुश्वु राई, भानु थापा, दुर्गा खत्री दिपेन थापा र वृष प्रधान निर्वाचित हुनु भएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । उक्त भेलाको उद्घाटन गर्दै पुराना लोक गायक एलपी जोशीले कला संस्कृतिको रक्षा गर्न कलाकर्मीहरु संस्कृतिका प्रेमीहरु एकजुट हुनुपर्ने बताउनु भयो । संघका केन्द्रीय सचिव प्रल्हाद बोगटीले सबै प्रदेश र स्थानीय स्तरमा समेत संगितकारहरुको समिति विस्तार गर्दै लगिने बताउनुभयो । सबै एकै उद्देश्यका मानिसहरु एक जुट भएपछि बलियो बनिने धारणा उहाँले राख्नु भयो ।

सो भेलाले संस्थाको स्थायित्वमा आवश्यक सुझाव प्रदान गर्न एक सल्लाहकार समिति समेत गठन गरेको छ । सो समितिमा एलपी जोशी, बुलु मुकारुङ, मानसिंह थुलुङ, भरत लामा, राजु केसी, बालकृष्ण कार्की र मणिराज गुरुङ हुनुहुन्छ । संगितकार संघले आगामी दिनमा प्रदेशभरिका संगितकारहरुलाई एकीकृत पार्ने, नवसंगितकारहरुलाई हातेमालो गरी स्थापित गर्ने र संगितको माध्यमबाट समाज सेवा गर्न, मानव जगतलाई मनोरञ्जन दिने काममा दत्तचित्त भएर लाग्ने उपाध्यक्ष गुरुङले बताउनुभयो ।