विराटनगर, ५ कात्तिक । विराटनगरमा सत्तारुढ गठबन्धनको संयुक्त भेलालाई आज शीर्ष नेताहरुले सम्बोधन गरेका छन् ।
सत्ता गठबन्धनको भेलालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्नु भएको हो । सम्बोधनका क्रममा उहाँहरुले आगामी निर्वाचनमा जसरी भए पनि गठबन्धनलाई जिताउन आग्रह गर्नु भएको छ । देउवाले गिरिजाप्रसाद कोइरालाले जस्तै आफूले पनि हँसिया हथौडामा भोट हालिसकेको बताउनु भयो । शान्ति सम्झौता गर्दाका बेला गिरिजाप्रसाद कोइरालाले ‘भोट हालिसकेको’ भन्दै उहाँले आफूले पनि हँसिया हथौडामा भोट हालिसकेको बताउनु भएको हो । लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउन गठबन्धनलाई भोट दिन कार्यकर्तालाई उहाँको निर्देशन छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन गरेको चर्चा गर्दै देउवाले आफूहरूले गरेको गठबन्धन संविधान र लोकतन्त्रको पक्षमा रहेको बताउनु भयो । आफ्नो पार्टी उम्मेदवार भएका स्थानमा रुखलाई र तालमेल गरिएका क्षेत्रमा गठबन्धन दलको चुनाव चिह्नमा भोट दिन उहाँले आग्रह गर्नु भएको थियो ।
दाहालले ‘संग्राम’ का रूपमा आगामी आमनिर्वाचन हुन लागेको भन्दै त्यसमा दुई फरक प्रवृत्तिका बीचमा प्रतिस्पर्धा हुने बताउनु भयो । उहाँले जनयुद्ध र जनआन्दोलनपछि संविधान निर्माण भएको र अहिले ‘गोरू गाडावालाले टाउको उठाउन खोजेको’ टिप्पणी गर्नु भयो । आफूहरुको गठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन भएको भन्दै उहाँले अर्को गठबन्धन गोरूगाडावाला गठबन्धन भएको टिप्पणी गर्नु भयो । ‘मंसिर ४ गते एउटा ठूलो ‘संग्राम’ हुँदै छ,’ दाहालले भन्नु भयो, ‘त्यसका लागि विस्तृत शान्ति सम्झौता र संविधान रक्षाका लागि काँग्रेससहितको गठबन्धन निर्माण गरिएको हो ।’ ओलीले धोका दिएपछि आफूले ज्ञान प्राप्त गरेको बताउँदै उहाँले शान्ति सम्झौतापछि सहमति, सहकार्यको संस्कृति निर्माण भएकोले एकअर्कालाई सहयोग गर्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।
नेपालले बेठिक मान्छेको हातमा पुगेको मुलुकलाई संकटबाट जोगाउन आफूहरुले गठबन्धन गरेर जोखिम लिएको बताउनु भएको छ । लोकतन्त्र धरापमा पर्ने, संघीयता खारेज हुने हो कि भन्ने अवस्थालाई पार लगाउन आफूले त्याग गरेको उहाँको जिकिर छ । अर्को गठबन्धन प्रतिगामी गठबन्धन भएको नेपालको टिप्पणी छ ।
गठबन्धनको उद्देश्य सत्ता मात्रै नभएको उल्लेख गर्दै उहाँले भन्नु भयो, ‘जनतालाई लुटौँ भन्ने होइन । त्यसको विरोध गर्नकै लागि हामीले गठबन्धन बनाएका हौँ ।’ २००७ साल, २०४७ र २०६२–०६३ मा कांग्रेससँग कम्युनिष्ट मिलेरै प्रगति गरिएको भन्दै नेपालले सत्ता गठबन्धन स्वभाविक भएको दाबी पनि गर्नु भयो ।