विराटनगर, ३ कात्तिक । विराटनगर महानगरपालिका वडा नं. ८ मा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरु गरिएको छ ।
वडा नम्बर ८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार शान्तिचोकदेखि दक्षिण जतुवासम्म रहेका मोटरसाइकलका ग्यारेज, स्थानीयको घर र पानी जमेको स्थानमा लामखुट्टेको लार्भा खोजेर नष्ट गरिएको छ ।
विशेष गरी टायर, झाडी, जमेको फोहोर पानीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बस्ने भएकाले खोज तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । यसअघि महानगरले स्वास्थ्य, नागरिक समाजसहित सरोकारवालालाई राखेर डेंगु नियन्त्रण तथा रोकथामका लागि अभिमुखीकरण सञ्चालन गरेको थियो ।