विराटनगर, असोज ३० । प्रदेश १ को मानव अधिकार अवस्थाका विषयमा डेलिगेशन अफ द युरोपियन यूनियन टु नेपाल मिनिस्टर काउन्सेलर डाक्टर जोइले हिभानेट र पोलिटिकल अफिसर लिसा साफ्रिकले प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनी मन्त्री केदार कार्कीसँग भेट गरी मानवअधिकार अवस्थाको विषयमा जानकारी लिएको छ ।
मन्त्री कार्कीले इयूको टोलीलाई प्रदेशको मानव अधिकारको अवस्थाका विषयमा बिफ्रिङ गर्नुका साथै प्रदेश सरकारले मानव अधिकार रक्षाका लागि तयार गरेका कानुन र कार्यविधिका विषयमा जानकारी गराएको इन्सेक प्रदेश १, संयोजक सोमराज थापाले बताउनु भयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १, को आयोजनामा प्रदेशको मानव अधिकार अवस्था बुझ्न आएको टोलीले कानुन मन्त्री कार्कीसँग भेटघाट प्रदेश १ को मानव अधिकार अवस्थाको विषयमा जानकारी लिएको हो । इयूको टोलीले प्रदेशमा महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायतको मानव अधिकार अवस्थाका विषयमा अनुगमन गरेको छ ।
इन्सेकको मानव अधिकार शिक्षा कार्यक्रमका विभागीय प्रमुख मदन पौडेल सम्मिलित टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, एसपी शान्तिराज कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वासुदेव सिग्देल, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतसँग भेट गरी मानव अधिकारको अवस्थाका विषयमा जानकारी लिएको छ ।