यी हुन् प्रदेश १ मा माओवादी केन्द्रका २६ उम्मेदवार, १३ नयाँ अनुहार, १३ पुरानै

विराटनगर, २३ असोज । प्रदेश १ का २८ प्रतिनिधिसभा र ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले गठबन्धनबाट २६ जना उम्मेदवार पाएको छ ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ७ र प्रदेशसभाका १९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको हो । प्रतिनिधिसभातर्फ माओवादीले ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्रीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईसँग मैदानमा उत्रने उनी माओवादीका केन्द्रीय सदस्य हुन् । उनी राजकीय भूमिकामा जाने कसरत सहित पहिले पटक चुनावी मैदानमा होमिएका हुन् ।

माओवादीले झापा २ मा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका हरिकुमार रानालाई उम्मेद्वार बनाएको छ । सो क्षेत्रमा एमालेले पार्टीका प्रदेश इञ्चार्ज देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । राना अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हुन् । उनी पनि संघीय सांसद पदका लागि पहिलो पटक निर्वाचनमा होमिएका छन् ।

यता मोरङको क्षेत्र नं. ४ मा अमनलाल मोदी र ५ मा शिवकुमार मण्डल उम्मेदवार बनेका छन् । उनीहरु दुबै यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । मोरङ क्षेत्र नं. ४ मा एमाले र जसपाको गठबन्धनबाट एमालेका विनोद ढकाल र क्षेत्र नं. ५ मा जसपाका राजकुमार यादव उम्मेदवार बनेका छन् । मोदी र मण्डलका लागि संसदीय निर्वाचन पुरानै खेल हो भने प्रतिस्पर्धी उम्मेद्वारमध्ये यादवका लागि नयाँ हो । एमालेबाट उम्मेद्वार बनेका ढकाल भने पटकपटक निर्वाचनमा उम्मेद्वार बनेपनि विजयी बन्न नसकेका नेता हुन् ।

उता सुनसरीको क्षेत्र नम्बर १ मा माओवादीले मुक्साहाङ मेन्याङ्बोलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा एमाले र जसपाको गठबन्धनबाट अशोक राईले उम्मेदवारी दिएका छन् । जसपा सत्ता गठबन्धनमै हुँदा प्रदेशसभा सदस्यका लागि तयारी गरिरहेका मेन्याङ्बोले अन्तिममा संघमै टिकट पाएका हुन् । राईको बाहुल्य रहेको सो क्षेत्रबाट निर्वाचन जित्न मेन्याङ्बोले राम्रै कसरत गर्नुपर्ने देखिएको छ । यद्यपि काँग्रेसको समर्थन गरेको र एमालेबाट उम्मेद्वार नभएको अवस्थामा उनलाई केही सहज देखिन्छ ।
भोजपुरमा माओवादीले निवर्तमान सांसद सुदन किरातीलाई उम्मेदवार बनाएको छ । उनीसँग नेकपा एमालेको तर्फबाट पूर्वमुख्यमन्त्री शेरधन राईले उम्मेदवारी दर्ता गरेका छन् । स्थानीयस्तरमा लोकप्रिय र चिरपरिचित प्रतिस्पर्धी उनका लागि सहज बन्नसक्छ । यद्यपि शेरधन राई एमालेका लोकप्रिय नेताहुन् भने भोजपुरमा एमालेको संगठन बलियो रहेको छ । व्यक्तिगत छवि र प्रभावका कारण सुदनले निर्वाचन जित्ने धेरैले विश्लेषण गरेका छन् ।

खोटाङमा माओवादीले प्रदेशका बहालवाला मन्त्री रामकुमार राईलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा एमालेका विशाल भट्टराई उम्मेदवार बनेका छन् । रामकुमार राईलाई सुरुमै गठबन्धन दल नेपाली काँग्रेसले बाघी उम्मेद्वार दिएका छन् । काँग्रेसलाई मिलाउन नसकेको खण्डमा उनका लागि निर्वाचन जित्न कठिन हुने देखिएको छ । त्यसमा पनि एमालेका चर्चित र स्थानीयस्तरमा लोकप्रिय नेता विशाल भट्टराईलाई पराजित गर्नु राईका लागि सहज देखिँदैन । उता, माओवादीको भागमा परेको भनिएको सोलुखुम्बु भने प्रदेशसभाको दुबै क्षेत्र लिएर प्रतिनिधिसभा काँग्रेसका बलबहादुर केसीलाई दिएको छ ।
यसैगरि ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये माओवादीको भागमा १९ वटा परेको छ । पाँचथरको २ बाट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो उम्मेदवार बनेका छन् भने इलामको २(२) बाट हर्क लावती उम्मेदवार बनेका छन् । लावती नयाँ अनुहार हुन् ।

झापा ३ (१) बाट श्यामबीर लिम्बू, ३ (२) बाट निवर्तमान सांसद पूर्णसिंह राजवंशी, झापा ४(१) बाट प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी, झापा ५ (२) बाट पार्टीका प्रदेश कोषाध्यक्ष गगन पुरी उम्मेदवार बनेका छन् । यसैगरी मोरङ १ (१) बाट निवर्तमान प्रदेश सांसद कुलप्रसाद साम्बा, मोरङ २ (१) बाट पार्टीका प्रदेश सचिब गणेश उप्रेती, मोरङ ६(१) बाट केन्द्रीय सदस्य जीवन आचार्यले उम्मेदवारी दिएका छन् ।

सुनसरी २(१) बाट हालै एमाले छाडेर माओवादीमा प्रवेश गरेका इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन् भने सुनसरी ३ (१) बाट प्रदेशकी उपसभामुख सरस्वती पोखरेलको उम्मेदवारी दर्ता भएको छ । धनकुटा २ बाट कुशुमकुमारी श्रेष्ठ र तेह्रथुम २ बाट दुर्गा चापागाई उम्मेदवार बनेका छन् । श्रेष्ठ निवर्तमान सांसद हुन् भने चापागाई पार्टीका केन्द्रीय सदस्य हुन् ।

यसैगरी संखुवासभाबाट राजेन्द्र कार्की, सोलुखुम्बुको १ बाट कज्र्याङ शेर्पा, सोलुखुम्बुको २ बाट ठमनाथ पराजुली (ध्रुव), उदपयुरको १ (१) बाट नारायण बुर्जा मगर र उदयपुर २ (१) बाट राजन किराती उम्मेदवार बनेका छन् । ओखलढुंगा २ मा बाबुराम गौतमलाई माओवादीले उम्मेदवार बनाएको छ । गौतम पनि संसदीय राजनीतिमा नयाँ अनुहार हुन् ।