विराटनगर, १३ असोज । मानव बेचविखन तथा नियन्त्रणका लागि माइती नेपालले गठन गरेको वडास्तरिय सञ्जाल समूह प्रभावकारी बन्दै गएको छ । विराटनगर १३, १५ र १६ मा गठन गरिएको सञ्जाल समूहले स्थानीय स्तरमा मानव वेचविखन तथा नियन्त्रणका लागि सचेतनामुलक कामका साथै लैगिंक हिंसा नियन्त्रणको काम पनि गर्दै आएको सञ्जाल संयोजकहरुले बताएका छन् ।
मानव वेचविखन तथा ओसारपसार नियन्त्रणका लागि वडा नं. १३, १५ र १६ का सञ्जाल समूह र एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सँग विहिबार माईती नेपाल मोरङले आयोजना गरेको छलफल कार्यक्रममा वडा सञ्जाल समूहका संयोजकहरुले मानव बेचविखन नियन्त्रणकासाथै लैंगिक हिंसा नियन्त्रणमा पनि उल्लेख्य काम भएको बताएका हुन ।
विराटनगर १६ की सञ्जाल संयोजक कमला सुब्बाले पहिले तुलनामा घरेलु हिंसाका घटनामा कमी आएको बताउनुभयो । विराटनगर १५ की सञ्जाल संयोजक दीपा पौडेलले एक वर्षमा घरेलु हिंसाका १० वटा घटनाहरु वडा कार्यालयको समन्वयमा मिलापत्र भएको सुनाउनुभयो । विराटनगर १३ की सञ्जाल संयोजक कुन्ती यादवले विभिन्न कारणले हुने गरेका घरेलु हिंसाहरु नियन्त्रणका लागि सचेतनामुलक काम तथा परामर्श सेवा दिईने गरेको बताउनुभयो ।
ओसीएमसीकी अनिता राउतले गत एक वर्षमा ७ सय ४ जनाले सेवा लिएको बताउनुभयो । कोशी अस्पतालमा रहेको ओसीएमसीबाट ३ पुरुष सहित ७०४ जनाले सेवा लिएको उहाँले जानकारी दिनुभयो । ओसीएमसीबाट उपचार, कानुनी सेवा, समुदायमा पुर्नस्थापना, जिविकोपार्जन, मानोसामाजिक परामर्श लगायतको सेवा दिईने गरेको उहाँले बताउनुभयो । लैंगिक हिंसा प्रभावित तथा पीडितहरुलाई एकै ठाउँबाट सेवा दिने उद्देश्यले ओसीएमसीले काम गरिरहेको उहाँले बताउनुभयो ।
माइती नेपाल मोरङका कार्यक्रम संयोजक विनोद पोखरेलले मानव बेचविखन तथा ओसार पसार बिरुद्धको अभियानमा सञ्जाल र माइती नेपाल बिच संयुक्त प्रयासमा काम हुने गरेको बताउनुभयो । विराटनगरका ३ वटा वडामा गठन गरिएको सञ्जालको प्रभावकारिताका कारण अन्य वडाहरुमा पनि गठनको माग आएको बताउनुभयो ।