विराटनगरका केवल र नेटका तारलाई व्यवस्थित बनाइने

विराटनगर, १३ असोज । विराटनगरको सौन्दर्यकरणका लागि विराटनगर महानगरले केवल र नेटका तारलाई व्यवस्थित बनाउने भएको छ ।

महानगरले बिहीबार केवल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तारलाई तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको छ । महानगर मेयर नागेश कोइरालाले विराटनगरलाई सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तारलाई व्यवस्थित बनाउन आग्रह गर्नुभयोे । जथाभावी लत्रिएका तारका कारण सहरको सुन्दरतामा ह्रास आएको प्रमुख कोइरालाको भनाइ थियो । तारलाई व्यवस्थित बनाउन महानगरका तर्फबाट पनि सहयोग गर्ने प्रमुख कोइरालाले प्रतिबद्धता जनाए । त्यसका लागि सहजीकरणको जिम्मेवारी इन्जिनियर अनिल सिंहले तोकिएको छ ।

पहिलो चरणमा सहरका मुख्य क्षेत्रका तार व्यवस्थित गर्ने गरी काम गर्न प्रमुख कोइरालाले निर्देशन दिनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कर संकलनका लागि महानगर निर्मम तरिकाले लाग्ने प्रस्ट्याउनुभयो । महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने उहाँको भनाइ थियो । वल्डलिङ, म्याक्स, क्लासिटेक, सुविसु, भाइनेट, कनेटलगायतका प्रतिनिधिलाई बोलाएर महानगरले छलफल गरेको हो ।

महानगरभित्र पोलमा रहेका ६० प्रतिशत तारहरु काम नलाग्ने रहेको बताए । म्याक्सका विराटनगर शाखा प्रमुख उमेश दाहालले भन्नुभयोे, ‘पोलमा बिग्रिएका तार निकालिँदैन, त्यही छाडिन्छ, त्यस्ता तारहरु करिब ६० प्रतिशत छन् । ४० प्रतिशत मात्रै काम लाग्ने तार छन् ।’