प्रदेश १ प्रमुख खापुङद्धारा प्रदेश निजामती सेवा अध्यादेश जारी

विराटनगर, १२ असोज । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ प्रदेश निजामती सेवा अध्यादेश २०७९ जारी गर्नु भएको छ । उहाँले निजामति सेवा अध्यादेशसँगै केही प्रदेश ऐन संशोधन गर्ने अध्यादेशहरू पनि जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश १ को प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेशहरू जारी गर्नुभएको हो ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्नेलगायतका निर्णय गरेको थियो । बैठकले ‘प्रदेश निजामती सेवा अध्यादेश, २०७९ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

उक्त अध्यादेशअनुसार, विपद् व्यवस्थापन ऐन–२०७५, प्रदेश लोक सेवा आयोग ऐन–२०७६, प्रदेश नं. १ प्रदेश वातावरण संरक्षण ऐन–२०७६, सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन–२०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन–२०७६, प्रदेश औद्योगिक व्यवसाय ऐन–२०७७, प्रदेश नं. १ निजी तथा साझेदारी फर्म दर्ता ऐन–२०७७, प्रदेश नं. १ प्रदेश वन ऐन–२०७७, प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन–२०७७, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन–२०७९, बृहत विराट विकास क्षेत्र सम्बन्धी ऐन–२०७६ संशोधनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो ।