जीवन विकासको उत्पादनमा लापरवाही

विराटनगर, ५ असोज। जीवन विकास डेरी प्रोडक्टका उत्पादनमा लापरवाही भएको पाईएको छ । विराटनगर १ मा रहेको डेरी प्रोडक्ट उद्योगको विराटनगर महानगरपालिकाले आज अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सामान्य स्वाथ्य सावधानी पनि नपनाई खाध्य सामाग्रीहरु उत्पादन गरिरहेको पाईएपछि नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
उद्योगको दुग्ध भण्डारण कक्ष फोहोर रहेको, कामदारले प्लाष्टिकको भाडोमा हातले दूग्ध पदार्थ घोल्दै गरेको, झिङ्गाहरु उडिरहेको अनुगमनका क्रममा फेला पारिएको थियो । त्यसैगरि पानी उद्योग फिलिङ रुमको ढोका खुल्ला रहेको, जार भर्ने कक्ष नभएको ,जार भर्ने ठाँउमा खाली बोतलहरु राखिएको, जार फिलिङ गर्ने ठाउँमा लिकेज भेटिएको पाईएको थियो ।

अनुगमन टोलीले लेबलिङ नगरिएको पानीका बोतलहरु नष्ट गरिनुका साथै दुग्ध पदार्थ घोल्दै गरेको प्लास्टिकका भाडाहरु जफत गरि सो उद्योग माथी कार्बाही प्रकृया अघि बढाईएको जनाइएको छ । महानगरले अहिले नियमित रुपमा बजार अनुगमन गरिरहेको जनाएको कार्यवहाक महानगर प्रमुख शिल्पा निराला कार्कीले बताउनुभयो ।

उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने छुट कसैलाई नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने, उपभोक्तालाई ठग्ने, खाध्य पदार्थमा मिसावट गर्ने, खसीको मासु भनेर बाख्राका मासु विक्री गर्नेहरुलाई कारवाही गरिने छ ।’