गैसस मोरङका अध्यक्ष ढकाललाई थुनामा राख्न आदेश

विराटनगर, ५ असोज । जिल्ला अदालतले गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका निलम्वित अध्यक्ष ५० वर्षीय राजेन्द्र ढकाललाई थुनामा राख्न आदेश दिएको छ ।

मोरङ अदालतमा ढकालविरुद्ध अप्राकृतिक मैथुन मुद्दा दर्ता भएको थियो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले आज थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । इजलासको आदेशपछि ढकाललाई कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो । ‘पछि ठहरेबमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा निज प्रतिवादीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नू,’ आदेशमा उल्लेख छ । जिल्ला सरकारी वकिल कार्यालय मोरङले अदालतमा ढकालविरुद्ध अप्राकृतिक मैथुन मुद्दा दर्ता गरेको थियो ।

वादी नेपाल सरकार र प्रतिवादी पक्षका कानुन व्यवसायीबीचको थुनछेक बहस सकिएपछि ढकाललाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो । १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप ढकालमाथि छ । बालक विराटनगर महानगरपालिका–१२ मा अभिभावकसँग बस्दै आएका थिए ।

पीडित परिवारले किटानी जाहेरी दिएपछि गत भदौ १६ गते पक्राउ गरेर प्रहरीले ढकालमाथि अनुसन्धान अघि बढाएको थियो । प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै एजुकेसन हेल्पलाइन मोरङका अध्यक्षसमेत रहेका ढकाललाई प्रतिवादी बनाएर हिजो अदालतमा मुद्दा दायर गरेको हो ।