विराटनगर, ३ असोज । संविधान दिवसको अवसरमा प्रदेश नं १ सरकारले वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि एक कार्यक्रमको आयोजना गरी रानीदेखि बरगाछी सम्म सडकको बिच भाग(डिभाइडर)मा बिरुवा रोपी संविधान दिवस मनाइएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राई तथा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बिरुवा रोपी कार्यक्रमको सुरुवात गर्नुभयो ।
केन्द्र सरकारको परिपत्र अनुसार प्रदेश १ सरकारले असोज २, ३ र ४ गते (३ दिन)सम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावली लगायतका कार्यक्रम गरी भव्यताका साथ मनाउने निर्णय गरेको थियो । वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले संविधान निर्माणको छोटो अवधिमै महत्त्वपूर्ण उपलब्धि हाँसिल गरेको बताउँदै संविधानलाई जोगाएर लान जरुरी रहेको बताउनुभयो ।
वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्काउट विद्यार्थी, स्वयंसेवी विद्यार्थी, निजामती कर्मचारीहरुलेले वन कार्यालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयले उपलब्ध गराएका २३ सय बिरुवा रोपेका छन् ।