महिलाको सशक्तिकरण आवस्यक : उपप्रमुख कार्की

विराटनगर ३१ भदौ । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले महिलाको सशक्तिकरण आवस्यक भएको बताउनु भएको छ । महिलाहरु आर्थिक र शैक्षिकरुपमा सवल भए हिंसामा नपर्ने उहाँको भनाई छ ।

युएनएफपीए र भिएसओ नेपालसँगको सहकार्यमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले लैंगिक समानता नीति र लैंगिक हिंसा निवारण कोष संवन्धि आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उपप्रमुख कार्कीले महिलाहरु आर्थिक र शैक्षिकरुपमा सशक्त भए हिंसामा नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ हिंसा निवारण कोष आवस्यक नै छैन भन्ने हैन तर, महिलाहरुको सशक्तिकरणलाई जोड दिन आवस्यक छ ।’ महिलाको सशक्तिकरणका लागि महिला अधिकारकर्मीहरुको उहाँले ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख डिल्ली धिमालले महानगरले हिंसा निवरण कोष कार्यविधि तयार गरि कार्यन्वयनमा आईसकेको बताउनुभयो । उहाँले कोषमा महानगर र प्रदेश सरकारबाट प्राप्त गरि ५ लाख ५० हजार रहेको बताउनुभयो ।

महाशाखा प्रमुख धिमालले विराटनगरका ५ वटा वडामा लैंगिक हिंसा रोकथामका कार्यक्रमहरु सञ्चालनमा रहेको बताउनुभयो । वडा नम्वर १, ६, १२, १४ र १५ मा कार्यक्रम सञ्चालनमा रहेको उहाँले बताउनुभयो । इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले हिंसा निवारण कोषको प्रभावकारी कार्यन्वयनमा जोड दिनुभयो । कोषका बारेमा प्रचार प्रसार आवस्यक भएको उहाँको भनाई छ ।

विराटनगर ८ का वडाध्यक्ष राम पोखरेलले लैंगिक हिंसामा परेका व्यक्तिहरु संरक्षण गृहबाट पुनस्थापनामा जाँदा आत्मनिर्भर भएर निस्कने गरि सीप प्रदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नारी विकास संघ अध्यक्ष सीता शर्मा, गैसस महासंघ मोरङ कार्यवहाक अध्यक्ष विष्णु शर्मा लगायतले स्थानीय सरकारहरुले हिंसा निवारण कोषलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

युएनएफपीए र भिएसओ नेपालसँगको सहकार्यमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले स्थानीय तहहरुसँगको समन्वयमा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्यको कार्यक्रम गरिरहेको कोकन अध्यक्ष मञ्जिता उपाध्यायले बताउनुभयो ।