मोरङ ३ : राप्रपा उम्मेदवार रेखा थापाको क्रेज बढ्दो

मोरङ, २९ भदौ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनाबमा सिफारिस भएकी चर्चित नायिका तथा नेतृ रेखा थापाप्रति गाउँलेहरुको आकर्षण देखिएको छ । थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छिन् ।
चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ ३ मा पर्ने पथरीशनिश्चरे,कानेपोखरी,बेलबारी र सुन्दर हरैचाका मतदातासँग भेटघाट गरिन ।

उनले मोरङ ३ का बिभिन गाउँतथा नगरका वडाहरुमा स्थानीयहरुसँग समस्याहरुबारे जानकारी लिइन । उनले सबै उमेर समूहका मतदाताहरुको अपार माया पाइरहेको बताइन । तपाईहरुको समस्यासँग जुध्न उम्मेदवार बनेर आउने बताएपछि स्थानीयहरुले रेखाको पक्षमा नारा लगाएका थिए । उनले नेता भनेको शासक होइन सेबक हुनुपर्ने बताईन । रेखालाई अग्रज मतदाताहरुले आशिर्वाद दिएका थिए भने महिलाहरुले अंकमाल गरेर उम्मेदवारीप्रती खुशी साटासाट गरेका थिए ।


घरदैलोका क्रममा उनले जनताले नै मतदान गरेर जिताएपछि जनतालाई घृणा,दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिदविक्री गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने भ्रष्टहरुलाई अब जनताले भविष्य सुम्पिनु नहुने बताइन । थापाले ‘ठगहरुलाई लखेट्ने’ बताउँदै आफ्नो मत खेर नफाल्न आग्रह गरिन ।

‘अहिलेसम्म हामीले गलत मान्छेहरुलाई चुनेको र गलत मान्छेहरु हाम्रा नेता रहेकोले गर्दा अब आफुहरुले भोगेका दुःखको अन्त्य गर्न आफुहरु जागेका छौं, उनले भनिन । पुराना नेताहरुले जनतालाई बर्षौँदेखि रुवाएर राखेकाले अब असल उम्मेदवारलाई मतदान गर्ने स्थानीयहरुको प्रतिक्रिया पाएको उनले बताइन ।

हातमा डायरी र कलम बोकेर कुर्तामा सजिएर उनी यतिबेला जनताको घरदैलोमा पुगिरहेकी छिन् । ‘जहाँ पुग्छु मलाई युवाले माया र ज्येष्ठ नागरिकले आशिर्वाद दिने गर्नुभएको छ,’ थापाले भनिन् ।

‘उहाँले रिल लाईफमा हाम्रो समस्याहरु उठाउनु भएको छ। अब जनताका आवाज बोल्न समस्याको समाधान गर्न सदनसम्मै पुर्याउनेछौ,’ रेखासँग एक स्थानीयले भने ।

हारजीत जे भएपनि जनताहरुको साथमै रहने बताउँदै उनले भनिन,‘म तपाइँहरुसँग आत्मजागरण गराउन आएको हुँ । मत अब कदापी खेर जानु हुन्न ।’ भेटघाटका क्रममा धेरै मतदाताले पहिलेका उमेदवारले चुनाव जितेर जाने त्यसपछि फर्किएर नआउने गरेको गुनासो गरेको सुनाइन ।

रेखाको निर्वाचन क्षेत्रमा सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या रहेको छ । स्थानीयले समस्याबारे निकै गम्भीरतापूवर्क बताउने गरेका छन् । थापाले मतदातासँग भनिन्, ‘ठूला राजनीतिक दलका नेताले आफ्नो व्यवसाय फस्टाउने काम मात्र काम गरे। गाउँ–गाउँका जनता अहिले पनि सामान्य उपचार गर्न सहर जानुपर्ने बाध्यता बनाएका छन्। म यी सबै हिसाबकिताब गर्न आएकी छु। म काम गर्न सक्छु, म नेपाली दिदीबहिनीहरूलाई चुलोबाट बाहिर निकाल्ने काम गर्छु।’ महिला दिदीबहिनीहरूको सुरक्षाका लागि आफू ‘काली’ बनेर आउने छु,’ उनले भनिन, ‘दिदीबहिनीहरूलाई राति हिँड्दा कसैले छोयो भने म काली बनेर सुरक्षा गर्न आउँछु।’

मोरङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका तर्फबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल उठ्ने चर्चा छ । त्यस्तै कांग्रेसका तर्फबाट मेडिकल व्यवसायी सुनील शर्माको नाम चर्चामा छ । शर्मा र ढकालसँग प्रतिस्पर्धा गर्न लागेकी राप्रपा नेतृ थापा भने सबैभन्दा पहिले चुनावी अभियान लिएर गाउँ पसेकी हुन्।

नायिका थापा चुनावी अभियानमा हिँडेपछि सोही ठाउँका बालबालिकाहरु तथा आम मानिसहरु खुसि देखिएका छन् । उनीसंग फोटो खिचाउनेहरुको संख्या बढेको देख्न सकिन्छ ।

नेपाली चलचित्रमा पनि उनको छुट्टै क्रेज छ ।