विद्यालय नाटक महोत्सव : आज भविष्य निर्माण मञ्चन, भोली कोही किन बर्बाद होस्

विराटनगर, २७ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको छैठौं दिन भविष्य निर्माण मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको सुम्निमा इङ्गलीस् स्कुलले विद्यार्थी अभिनित भविष्य निर्माण मञ्चन गरेको हो ।

विद्यालयका शिक्षक भावना कार्कीले परिकल्पना तथा निर्देशन गरेको देवकुमारी थापा कृत नाटकमा समाजको वातावरणले पार्ने प्रभाव देखाइएको थियो । नाटकमा आषिश चौधरी, सृष्टि कामत, सियोन गिरी, लिवर्टी अधिकारी, आरम्भ चौधरी, प्रयास ठाकुर, विराट सहनी, आयुष गुरुङ, रिशिम साह लगायतले अभिनय गरेका थिए ।

भदौ ३१ गतेसम्म चल्ने नाट्य महोत्सवमा अब मंगलबार मोर्डन एरा से. इ. बो. स्कुलले कोही किन बर्बाद होस् नाटक मञ्चन गर्नेछ । भदौ २९ गते लक्ष्मीनारायण वेद विद्याश्रमले सुसंस्कृतम्, भदौ ३० गते कान्तिपुर से. स्कुलले खुट्टीमा झुण्डिएको कोट र भदौ ३१ गते अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । दैनिक अपराह्न ४ बजे फरक फरक विद्यालयका नाटक मञ्चन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

महोत्सवमा सहभागी हुनका लागि आवेदन दिएका विद्यालय मध्येबाट ९ विद्यालय छनौट गरी सहजिकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो ।

सहभागी विद्यालयले शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारेको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएका छन् । महोत्सवले विद्यालय, विद्यार्थी र रङ्गमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ ।