निर्वाचनपछि पनि देशमा स्थिरता आउँदैन : एमाले नेता पाण्डे

विराटनगर, २२ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी मंसिर ४ गतेको निर्वाचन पछि पनि देशमा स्थिरता नआउने बताउनुभएको छ ।

निर्वाचन पछिका ५ वर्ष पनि मुलुक अस्थिरताका विच गुज्रने उहाँको भनाई छ । विराटनगरमा नेपाल दुरसंचार राष्ट्रिय कर्मचारी संगठनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै एमाले उपाध्यक्ष पाण्डेले सो कुरा बताउनु भएको हो । नेता पाण्डेले निर्वाचन पछिका ५ वर्षमा कम्तिमा ३ जना प्रधानमन्त्री बन्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ गठबन्धनका कारण देश थप अस्थिरता तर्फ जादैछ ।’

उपाध्यक्ष पाण्डेले गठबन्धन गर्दैमा चुनाव नजितिने समेत बताउनुभयो । ०७४ को निर्वाचनमा एमाले र माओवादीवीच गठबन्धन गर्दा पनि माओवादीले पाएको सिट भन्दा झण्डै आधामा मात्र जित हात पारेको पाण्डेले बताउनुभयो । नेता पाण्डेले राज्यको नीति बलियो भए भ्रष्टाचार अन्त्य गर्न समय नलाग्ने बताउनु भयो । उहाँले मुलुकको प्रमुख समस्या भ्रष्टाचार नभएको पनि बताउनुभयो । उहाँले ठुला दरका नोट नछाप्ने र क्यासलेस कारोवारलाई जोड दिने वित्तिकै भ्रष्टाचार घटेर जाने दावी गर्नुभयो । कर्मचारीले काम नगर्ने प्रबृत्ति बढ्दै गएको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ कर्मचारीको काम नगर्ने प्रबृति बढ्दै गए यो मुलकको प्रमुख समस्या हुनेछ ।’

महाधिवेशनमा एकिकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले गठबन्धन बास्तविकता भएको बताउनुभयो । उहाँले विशेष परिस्थिति नबन्दा सम्म गठबन्धन कायमै रहने बताउनुभयो । तीन दिन सम्म चल्ने महाधिवेशनमा देशभरका ७ सय बढी प्रतिनिधि सहभागि छन् ।