प्रदेश १ बाट एक वर्षमा ५ हजार ७ सय महिला बालिका सीमा नाकामा रोकिए

विराटनगर, २० भदौ । प्रदेश १ मा मा ५ हजार भन्दा बढी महिला तथा बालबालिकालाई सीमा नाकामा रोकिएको छ ।

आर्थिक वर्ष २०७८–०७९को असार मसान्तसम्ममा विभिन्न सीमा क्षेत्रमा काम गर्ने संघ संस्थाले सीमा क्षेत्रबाट ५ हजार ७ सय २१ जनालाई सीमा नाकामा रोकिएको तथ्यांक सार्वजनिक गरिएको हो । माइती नेपाल मोरङको आयोजनामा विराटनगरको रानीमा मानव बेचबिखन विरुद्धको सोह्रौँ राष्ट्रिय दिवसको अवसरमा आयोजित मानव बेचबिखन विरुद्धको सीमा अभियान कार्यक्रममा सीमामा १ हजार १ सय १२ जनाको विभिन्न क्षेत्रबाट उद्धार भएको जानकारी दिइएको थियो ।

उद्धार भएकाहरूमा माइती नेपालले १८ जना , साना हातहरूको ९ जना, आफन्त नेपालले ८१५ जना, सिविन ३८ जना र बालबालिका खोज तलास प्रदेश समन्वय केन्द्र १०४ ले ५९ जनाको उद्धार भएको कार्यक्रममा अध्यक्ष तथा माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो ।

विराटनगर रानीमा आयोजित कार्यक्रममा सीमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसार पसार विरुद्धको सीमा अभियानको क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मोरङ जिल्लाका सीमा क्षेत्र अति संवेदनशील भएको बताउनुभयो । प्रदेश १ प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिआइजी) सुदिप गिरीले समाजका अन्य अपराध भन्दा जघन्य अपराधको रूपमा मानव बेचबिखनको विषय रहेको बताउनुभयो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव दिर्घराज मैनालीले मानव बेचबिखन गर्ने अपराध रोक्नको लागि सबैको साथ र सहयोग हुनु पर्ने बताउनुभयो ।

प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयको सहयोग र माइती नेपालको आयोजनामा भएको कार्यक्रमको विद्यालय स्तरको वक्तृत्वकला प्रतियोगिताबाट विजयी भएका विद्यार्थीलाई समेत पुरस्कार वितरण गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा युनिसा गौतम प्रथम, सुभिका निरौला द्वितीय, युनिस नेपाल तृतीय र एन्जेनिता श्रेष्ठ चौथो भएकी थिईन ।