विराटनगर, १९ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले मोरङका ६ वटा प्रतिनिधिसभाको क्षेत्रका उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रीय समन्वय कमिटीहरुले आज ६ वटै क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस गरिएको जनाएका छन् ।
क्षेत्र नम्वर १ बाट स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्वाहाम्फे सहित ५ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेमा डा. तुम्वाहाम्फे, वर्तमान सांसद घनस्याम खतिवडा, अग्नी भट्टराई, राजेन्द्र पौडेल र सामाजिक अभियान्ता रुद्र तामाङको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर २ बाट मोरङ अध्यक्ष तथा संविधानसभा सदस्य ऋषिकेश पोखरेलको एकल नाम सिफारिस भएको छ । ०७० सालको चुनावमा नेपाली कांग्रेसका आमोद उपाध्यायलाई पराजित गरेका पोखरेल २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसँग पराजित हुनु भएको थियो । क्षेत्र नम्बर ३ बाट स्थायी कमिटी सदस्य भानुभक्त ढकालको एकल नाम सिफारिस भएको छ । क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पूर्वमन्त्रीसमेत रहेका ढकालको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। २०७४ को निर्वाचनमा ढकाल सोही क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँले कांग्रेसका सुनील शर्मालाई पराजित गर्नुभएको थियो ।सो क्षेत्रबाट कांग्रेसले शर्माको एकल नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य विनोद ढकालको नाम सर्वसम्मत सिफारिस भएको छ । ढकाल यसअघि संविधानसभा र विराटनगर महानगरको प्रमुखमा पराजित हुनु भएको थियो ।
क्षेत्र नम्बर ४ बाट उहाँको एकल नाम सिफारिस भएको क्षेत्रीय समन्वय कमिटीले जनाएको छ । क्षेत्र नम्वर ५ बाट सामाजिक अभियान्ता योगेन्द्र मण्डल, मनोज अग्रवाल र राधा पासवनको नाम सिफारिस भएको केन्द्रीय सदस्य रामलाल साहले जानकारी दिनुभयो । क्षेत्र नम्बर ६ बाट एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित र प्याब्सनका पूर्व अध्यक्ष टीकाराम पुरीको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट पण्डितले २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पराजित गरेका थिए । सो क्षेत्रबाट पण्डितसँगै पुरीको नाम पनि सिफारिस भएको छ ।