निर्वाचनमा द्वन्द्व व्यवस्थापन सम्बन्धी छलफल

जनकपुरधाम, १९ माघ । नागरिक संलग्नता र निर्वाचनसम्बन्धी द्वन्द्वको विश्लेषणमा केन्द्रित ‘चेतना’ परियोजनाअन्तर्गत मधेश प्रदेशको जनकपुरधाममा फोकस ग्रुप छलफल गरिएको छ ।

होटल जनकपुर इन, रामानन्द चोकमा आयोजना गरिएको कार्यक्रममा निर्वाचनसम्बन्धी द्वन्द्वको विषयमा छलफल गरिएको हो ।

चेतना परियोजनाको उद्देश्य निर्वाचनसँग सम्बन्धित द्वन्द्व घटनाका विषयमा सहभागीका प्रत्यक्ष अनुभव र धारणा बुझ्नु रहेको आयोजकले जनाएको छ । कार्यक्रममा परियोजनाको परिचय,आवश्यकता, नैतिक मापदण्ड र छलफलका नियमबारे जानकारी गराइएको थियो ।

सहभागीहरूले निर्वाचन अवधिमा देखिने द्वन्द्व, सामाजिक प्रभाव र समाधानका उपायबारे धारणा राखेका थिए । छलफलपछि सहभागीबीच आपसी संवाद र अनुभव आदान–प्रदान गरिएको थियो ।

कार्यक्रमको सहजीकरण समग्र विकास केन्द्रका कार्यकारी निर्देशक डा प्रेम ढुंगेलले गर्नुभएको थियो ।