गैसस अध्यक्ष ढकाललाई निलम्वन गरि कानुनी कारवाही अघि बढाउन माग

विराटनगर, १६ भदौ । अप्राकृतिक यौन शोषण तथा दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्रप्रसाद ढकाललाई निलम्वन गरि कानुनी कारवाही अघि बढाउन मोरङका डेढ दर्जन गैरसरकारी संस्थाहरुले माग गरेका छन् ।

गैर सरकारी संस्था महासंघ मोरङ सहितका संस्थाहरुले आज संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष ढकाललाई निलम्वन गर्नका लागि केन्द्रीय समिति समक्ष माग गरिएको छ । बालबालिकाको क्षेत्रमा क्रियाशील सामाजिक संस्था, संगठन र निकायको जिम्मेवारीमा रहेका व्यक्तिबाट यस्तो किसिमको निन्दनीय काम भएको प्रति सामाजिक संस्थाहरुले दुःख व्यक्त गरेका छन् । उनीहरुले आरोपित व्यक्तिमाथि प्रभावकारी अनुसन्धान गरी आवश्यक कानूनी कारवाहीको लागि सम्बन्धित निकायमा जोडदार माग गरेका हुन ।

एजुकेशन हेल्प लाईन नामक गैर सरकारी संस्थाका अध्यक्ष समेत रहेका ढकाललाई १३ वर्षीय एक बालकमाथि अप्राकृतिक यौन शोषण तथा दुव्र्यवहार गरेको आरोपमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।

संयुक्त रुपमा विज्ञप्ति जारी गर्नेहरुमा गैसस मोरङ, माईति नेपाल, नारी विकास संघ, मानव अधिकार तथा वातावरण मञ्च (फरेन), सामुदायिक विकास प्रयास नेपाल (प्रयास नेपाल), सानाहातहरु नेपाल, एविसी नेपाल, जागरण नेपाल, मानव अधिकार रक्षक परिषद, सिविन नेपाल, ओरेक, आत्म निर्भरता अभियान (श्री) नेपाल, मानव अधिकार एलाइन्स जिल्ला शाखा मोरंग, मानव अधिकार सञ्जाल मोरंग, नेपाल ग्रामिण विकास समाज केन्द्र, साझा सवालका लागि साझा मञ्च (कोकन), महिला जागृति केन्द्र विराटनगर, बाल समाज नेपाल विराटनगर रहेका छन् ।