पत्रकार महासंघ मोरङद्धारा दुई पत्रकार पुरस्कृत

विराटनगर, ११ भदौ । नेपालको पहिलो पत्रकारको रुपमा मानिएका मोतिराम भट्टको जन्मजयन्तीको उपलक्ष्यमा हिजो विराटनगरमा दुई पत्रकारहरुलाई पुरस्कृत गरिएको छ ।

पीताम्वर –खिलेश्वरी स्मृति प्रतिष्ठान विराटनगर र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७८ बाट नेपाल पत्रकार महासङ्घका पूर्व सभापति बिष्णु निष्ठुरीलाई नगद २५ हजार सहित पुरस्कृत गरिएको छ । यसैगरी खिलेश्वरी स्मृति पुरस्कार–२०७९वाट मोरङका पत्रकार दुर्गाप्रसाद खतिवडालाई नगद ११ हजार सहित सम्मान गरिएको छ । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्दै पत्रकारहरुको जिविकापार्जन र सुरक्षा उपलव्ध गराउन राज्यको ध्यान जानु पर्ने बताउनु भयो । उहाँले पत्रकारको कलम धारिता एवं तिखो वनाई जनताको आवाज उठाउन आग्रह गर्नु भयो । उहाँले पत्रकारिता पेशालाई मर्यादित, जनउत्तरदायित्व र निश्पक्ष बनाउन स्व.कोशराज रेग्मीले देखाएको वाटो मार्गदर्शन हुने धारणा राख्नु भयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समाजको महत्वपूर्ण अङ्गको रुपमा रहेको भाषा र साहित्यको संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रता अक्षुण राख्न राज्यका सबै निकायको दायित्व रहेको छ भन्दै व्यवसायिक पत्रकारिताको संरक्षण, विकास र प्रवद्र्धनमा राज्यले उपयुक्त नीति बनाउनु पर्नेमा जोड दिनु भयो ।

नेपाल पत्रकार महासङ्घका मोरङ अध्यक्ष सन्जिव खनाल, पुरस्कृत व्यक्तित्व महासङ्घका पूर्व सभापति निष्ठुरी, महासङ्घका प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे लगायतले बोल्नु भएको थियो । सोही अवसरमा सभामुख भण्डारीले कोशराज रेग्मी स्मृतिका पानाहरु पुस्तकको विमोचन गर्नु भएको थियो ।