धनकुटा १० माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डाको दुरुपयोग गरेर भोट माग्ने गतिविधि गैरकानुनी र आपत्तिजनक रहेको बताउनु भएको छ ।
धनकुटा लेडी जेसिसको सातौँ पद हस्तान्तरण कार्यक्रममा आज बोल्दै उहाँले निर्वाचनमा राष्ट्रिय गरिमा झल्काउने सूर्यचन्द्र अंकित झण्डा प्रयोग गर्नु अनुचित रहेको टिप्पणी गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले चुनाव प्रचारका क्रममा विभिन्न दलहरूले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दा राष्ट्रिय एकता र प्रतीकको अवमूल्यन भएको बताउनुभयो ।
नेपालीको साझा प्रतीकका रूपमा रहेको झण्डा ओढेर भोट माग्ने र सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गर्ने कार्य कुनै पनि हालतमा क्षम्य नहुने उहाँको भनाइ छ । यस्ता गतिविधिले लोकतन्त्र र सामाजिक सद्भावमा नकारात्मक असर पार्ने भन्दै यसको नियन्त्रण आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।