आइटिएफ तेक्वान्डो प्रदेश १ को अध्यक्षमा पुनः कार्की

विराटनगर, ३ भदौ । आइटिएफ तेक्वान्डो सङ्घ प्रदेश १ को अध्यक्षमा प्रवीणकुमार कार्की निर्र्विरोध निर्वाचित हुनु भएको छ । विराटनगरमा आज सम्पन्न सङ्घको दोस्रो प्रदेश अधिवेशनले कार्कीलाई पुनः अध्यक्ष चयन गरेको हो । कार्की यसअघि पनि आइटिएफ तेक्वान्डो सङ्घ प्रदेशको अध्यक्ष हुनुहुन्थ्यो ।

नवनिर्वाचित अध्यक्ष कार्कीले तेक्वान्डो खेलको विकास गरेर अगाडी बढने प्रतिवद्धता जनाउनु भएको छ । राज्यले प्रर्याप्त बजेट विनायोजन नगरेका कारण खेलकुद क्षेत्र पछि परिरहेको उहाँले बताउनु भयो । तीनै तहका सरकारले प्रर्याप्त बजेट छुट्याएर खेलकुद क्षेत्रको विकासमा सहयोग गर्नुपर्नेमा कार्कीको जोड छ । कार्की नेपाल राष्ट्रिय मार्सल आर्ट महासङ्घको केन्द्रीय अध्यक्ष एवम् नेपाल इन्टनेशनल तेक्वान्डो महासङ्घका केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ । आइटिएफ तेक्वान्डो खेलको विकास तथा विस्तारमा कार्कीको महत्वपूर्ण योगदान छ ।

आइटिएफ तेक्वाण्डो सङ्घको प्रदेश उपाध्यक्षमा चतुरलाल चौधरी, राजेन्द्र धिमाल, सचिवमा चन्द्रबहादुर तामाङ्ग, कोषाध्यक्षमा ओमकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै सङ्घको सदस्यमा जितन थापा, प्रल्हाद राउत, वीरबहादुर तामाङ्ग, विक्रम लिम्बू, केरिसा आचार्य, आयूषा तामाङ्ग र दिलन राई चयन हुनु भयो ।

खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्य सचिव हंशराज वाग्लेले पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्डोबाट सहभागी हुने प्रदेशका खेलाडीले सबैभन्दा बढी मेडल जित्ने गरी तयारी गर्नुपर्नेमा जोड दिनु भएको छ । तेक्वान्डोलाई प्रदेश सरकारले उच्च प्राथामिकतामा राखेको उहाँले बताउनु भयो । प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक जित्ने खेलाडीलाई यसपटक नगदसहित विशेष सम्मान गरिने वाग्लेको घोषणा छ । उहाँले खेलकुद क्षेत्रको विकास सरकारको प्राथमिकतामा पर्नुपर्ने पनि बताउनु भयो । कार्यक्रममा खेलकुद विकास वोर्ड प्रदेश १ का सदस्य शैलेश विष्टले ‘एक घर, एक खेलाडी’ उत्पादन अभियान चलाएर खेलकुद क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनु भयो । विराटनगर–४ का वडाअध्यक्ष जितन थापाले राष्ट्रलाई चिनाउने खेलकुद क्षेत्र भएकोले यसको विकास गरेर लैजानुपर्ने बताउनु भयो ।