विराटनगर ११ पुस । माईती नेपाल विराटनगरले आज मोरङ ग्रामथानको सरस्वती माविका कक्षा ११ र १२ विद्यार्थीका लागि सचेतनामुलक कार्यक्रम गरेको छ ।
विद्यार्थीलाई बाल संरक्षण, अनलाइन यौन शोषण, यौन तथा प्रजनन स्वास्थ्य तथा ट्रमा–संवेदनशील हेरचाह जस्ता अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयहरूमा विद्यालयस्तरमै सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो ।
बालबालिका तथा किशोरी–किशोरहरूलाई सुरक्षित, स्वस्थ र आत्मसम्मानयुक्त जीवनतर्फ सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । सचेतनामुलक कार्यक्रमबाट विद्यार्थीहरूलाई बाल संरक्षणको अवधारणा र अधिकारबारे जानकारी हुनाका साथै अनलाइन यौन शोषणका स्वरूप, जोखिम र बच्ने उपाय, ट्रमा–संवेदनशील हेरचाहको महत्व बारे अवगत गराईएको उहाँले बताउनुभयो ।
संयोजक पोखरेलका अनुशार विद्यार्थीहरूको सहभागिता अत्यन्त उत्साहजनक रहेको र उनीहरूले खुलस्त रूपमा प्रश्नहरू सोधेको, अनुभव साटासाट गरेको तथा समूहगत छलफलमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
मनोपरामर्शकर्ता गिताञ्जली शर्माले कार्यक्रमले विद्यार्थीहरूलाई सुरक्षित व्यवहार अपनाउन, सही निर्णय लिन तथा समस्या परेमा सहयोग खोज्न प्रेरित गरेको बताउनुभयो । उहाँले सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिई अभिभावक र शिक्षकहरूलाई समेत समेट्ने आगामी योजना रहेको बताउनुभयो ।
कार्यक्रममा ७३ जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रमको सहजीकरण संयोजक पोखरेल, मनोपरामर्शकर्ता शर्माले गर्नुभएको थियो ।