जोलोजिकल सोसाइटी कोशी प्रदेशको पाँचौ साधारण सभा, अध्यक्षमा अधिकारी निर्वाचित

विराटनगर १० पुस। जोलोजिष्टहरुले देश विकासमा आफ्नो अनुसन्धानहरुबाट योगदान दिनुपर्ने बताउनुभएको छ ।

कोशी प्रदेशभरिका जोलोजिष्ट (प्राणी वैज्ञानिक)हरुको विराटनगरमा पुस १० गते आयोजित नेपाल जोलोजिकल सोसाइटी कोशी प्रदेशको पाँचौ साधारण सभामा जोलोजिष्टहरुले त्यस्तो धारणा राख्नुभएको हो ।

सो सभामा बोल्दै प्राध्यापक डाक्टर रामबहादुर थापाले प्राणी विज्ञानसँग सम्बन्धितहरुले आफ्ना खोजअनुसन्धानबाट देशको विकासमा योगदान दिनुपर्ने विचार राख्नुभयो । उहाँले बिग्रिएर गएको वातावरणलाई सच्याउनका लागि सबैले लाग्नुपर्ने बताउनुभयो ।

नेपाल जोलोजिकल सोसाइटीका केन्द्रीय अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन प्राडा महेन्द्र महर्जनले प्राणी विज्ञानलाई देश र समाजको विकाससँग जोड्नुपर्ने बताउनुभयो ।
जोलोजिष्ट मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा दामोदर थापाले जोलोजिष्टहरु स्वयम् सक्रिय भई खोज अनुसन्धान गरी देशको भौतिक विकासमा योगदान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

अग्रज जोलोजिष्ट तथा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक सुशीलकुमार झाले सोसाइटीले सिनियर र जुनियर सबै जोलोजिष्टहरुलाई एकै ठाउँमा ल्याएर उत्साह भरेको बताउनुभयो ।

कोशी प्रदेशमा ८० जना जोलोजिष्टहरु रहेको सोसाइटीका कोशी प्रदेशका महासचिव रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । जोलोजी विषयमा एमएस्सी पास गरेकाहरुले नेपाल जोलोजिकल सोसाइटीको सदस्यता प्राप्त गर्न सक्ने जानकारी पनि सो सभामा दिइयो ।

नेपाल जोलोजिकल सोसाइटी कोशी प्रदेशले सञ्चालन गर्दै आएको सोमप्रसाद निरौला प्राणी विज्ञान पुरस्कारबाट यस वर्ष सुशीलकुमार झा पुरस्कृत हुनुभयो ।

अग्रज जोलोजिष्ट प्राडा रामबहादुर थापा र सहायक डीन महेन्द्र महर्जनले संयुक्त रुपमा पुरस्कार समर्पण गर्नुभएको थियो । झालाई प्राणी विज्ञानको माध्यमबाट देश, समाज र मानव विकासमा महत्वपूर्ण योगदान गरेकोले उक्त पुरस्कार प्रदान गरिएको जानकारी कार्यक्रममा दिइयो ।

दुई लाख १० हजारको अक्षयकोषबाट आउने ब्याज रकमबाट हरेक साल जोलोजीसँग सम्बन्धित एक जना व्यक्तिलाई पुरस्कृत गरिन्छ । यसअघि सो पुरस्कारबाट डा भरतराज सुब्बा, निवर्तमान संसद प्राडा कालुराम राई पुरस्कृत भइसक्नुभएको छ ।

पाँचौ साधारणसभामा तीन जना जेष्ठ जोलोजिष्टलाई सम्मान गरिएको छ ।

सम्मानित हुनुहुनेमा प्राडा दामोदर थापा क्षेत्री, डा विनोदकुमार महासेठ र जयनारायण श्रेष्ठ हुनुहुन्छ । उहाँहरुलाई प्राडा रामबहादुर थापा र प्राडा महेन्द्र महर्जनले दोसल्ला ओडाएर सम्मानपत्रसहित सम्मान गर्नु भएको थियो ।

नेपाल जोलोजिकल सोसाइटीले ६३ वर्ष उमेर पूरा भएका अग्रज जोलोजिष्टहरुलाई सम्मान गर्ने सँस्कार रहेको सो संस्थाले जनाएको छ ।

यसैबीच नेपाल जोलोजिकल सोसाइटी कोशी प्रदेशको पाँचौ साधारण सभा तथा तेश्रो अधिवेशनले शालिग्राम अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

अधिवेशनले नयाँ समिति निर्माण गरेको हो । समितिको उपाध्यक्षमा विकास खनाल र महासचिवमा रामचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ ।

सचिवमा नारायण रेग्मी, कोषाध्यक्षमा मुन थापा थपलिया निर्वाचित हुनुभयो ।

समितिका सदस्यहरुमा जीवन गुरुङ, मिलन खरेल,कञ्चन झा,बिना झा, विवेक गौतम, अक्लेशकुमार साह,सुजितकुमार यादव र श्यामसुन्दर रजक चयन हुनुभएको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै नेपाल जोलोजिकल सोसाइटीका केन्द्रीय अध्यक्ष प्राडा महेन्द्र महर्जनले देशै भरिका जोलोजिष्टहरु एकतावद्ध भएर एक अर्कालाई साथ सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।