विराटनगर ९ पुस । विराटनगर महानगरपालिका भित्रको फोहोर उठ्न छाडेको तीन दिन भियो । पुस ६ गतेदेखि महानगर अन्र्तगतका तीनवटै संस्थाले फोहोर उठाउन छाडेका छन् ।
‘ल्याडफिल साईड’ विवादका कारण विराटनगर महानगरपालिका अन्र्तगतका १९ वटै वडाहरुको फोहोर व्यवस्थापनको जिम्मा लिएका नेपाल फुलवारी, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल र सगरमाथा मल्टि सर्भिसेजले ल्याण्डफिल साईडको समस्या समाधान नभए सम्मका लागि फोहोर उठाउन नसक्ने भन्दै सामाजिक सञ्जालमा सूचना जारी गरेका छन् । यसअघि फोहोर व्यवस्थापन हुदै आएको विराटनगर ६ को ल्याण्डफिल साइडमा ‘शमसान घाट’ बन्ने भएपछि त्यहाँ फाल्न रोकिएको थियो ।
पुस १ गते देखि विराटनगर १२, दरैयामा फोहोर व्यवस्थापनको काम शुरु भएको थियो । दरैयामा फोहोर व्यवस्थापनको काम शुरु भएपछि छिमेकी स्थानीय तह सुनसरीको बर्जु गाउँपालिकाका स्थानीयवासीले आपत्ती जनाएपछि पुस ६ गतेदेखि फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको छ । दरैया आसपास करिव ३ किलोमिटर वरपर वस्ती नभएपनि बर्जु गाउँपालिकाका स्थानीयले स्वास्थ्यमाथि खेलबाड भएको भन्दै फोहोर फाल्न अवरोध सिर्जना गरेको विराटनगरको उत्तरी भेगको फोहोर व्यवस्थापन गर्दै आएको नेपाल फुलवारीका प्रमुख व्यवस्थापक उमेश कटवालले बताउनुभयो ।
फोहोर व्यवस्थापनको सवै जिम्मा लिएका संस्थाहरुले स्वास्थ्यका सवै मापदण्ड अपनाउने बताएपनि बर्जुका स्थानीयले कुनै कुरा नसुनी फोहोर फाल्न नपाउने मात्रै एक शुत्रिय माग राखेपछि समस्या भएको विराटनगर मध्य क्षेत्रको फोहोर व्यवस्थापन गर्दै आएको शान्तिका लागि वातावरण नेपालका व्यवस्थापक एकराज खनालले जानकारी दिनुभयो ।
स्थानीयबासी र प्रशासन कार्यालय, महानगरवीच छलफल भएपनि निश्कर्षमा पुग्न नसकेका कारण तत्काल फोहोर उठाउन नसकीएको उहाँले बताउनुभयो । स्थानीयसँग सहमति कायम नहुँदा सम्म फोहोर उठाउन नसकिने खनालले बताउनुभयो । उहाँले भन्नुभयो,‘ समस्या समाधान भएलगत्तै काम शुरु हुन्छ ।’ लामो समय सम्म फोहोर नउठ्दा समस्या हुने उहाँले बताउनुभयो ।
विराटनगर महानगरपालिका भित्रबाट दैनिक १०५ देखि ११५ मेट्रिकटन फोहोर संकलन हुने गरेको छ ।