न्यायिक समितिका कार्यबारे अनुभव आदानप्रदान

विराटनगर, १ भदौ । ताप्लेजुङ दुईवटा स्थानीय पालिकाका न्यायिक समिति संयोजकले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अवलोकन गरेका छन् ।

आज ताप्लेजुङको फुङलिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा र आठराई–त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष शान्ता आङबोहाङले महानगरको न्यायिक समितिको अवलोकन गर्नुभएको हो । उहाँहरूलाई महानगरकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक शिल्पा निराला कार्कीले स्वागत गर्नुभयो । सो क्रममा उपप्रमुख कार्कीले न्यायिक समितिसित जनताको ठूलो विश्वास रहेको बताउनुभयो ।

प्रदेश–१ कै एउटा मात्रै महानगर भएकाले उसले गरेका कामबाट आफूहरूले पनि केही सिक्ने मौका मिलेको फुङलिङ नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक भीमादेवी ओझाको भनाइ थियो । आफूहरूले पनि न्यायिक समितिको कामलाई प्रभावकारी बनाइरहेको उनले बताउनुभयो ।

सो क्रममा न्यायिक समितिका चुनौती, अवसर, दायित्वलगायतका विषयमा अनुभव आदानप्रदानसमेत गरिएको थियो । उनीहरूले महानगरको इजलासमा बसेर न्याय सम्पादन र छलफलको अवलोकनसमेत गरेका थिए ।

सो क्रममा महानगरको न्यायिक समिति सदस्य तीर्थेन्द्र नेउपाने, रुपा देउजा, कानुन अधिकृत शारदा थपलिया, फुङलिङ नगरपालिकाका निवर्तमान उपप्रमुख बमबहादुर भट्टराईलगायतको समेत सहभागिता रहेको थियो ।