प्रदेश १ को नामाकरणको संभावना कम : सभामुख भण्डारी

विराटनगर, १ भदौ । प्रदेश १ का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले यही संसदबाट प्रदेशको नामाकरण गर्ने सम्भावना नरहेको बताउनुभएको छ ।

आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले चालु संसदबाट प्रदेश सरकारको नामाकारण हुने सम्भावना न्युन रहेको बताउनुभएको हो । उहाँले पार्टीहरुका आफ्ना–आफ्ना अडान र नेताहरुको केन्द्रिकृत भावनाले प्रदेशको नामाकरण हुन नसकेको बताउनु भयो । उहाँले प्रदेश संसदले प्रदेशको नामाकरणका लागि दलहरुबीचमा छलफल गराए पनि त्यो सहमति बन्न नसकेको बताउनु भयो । प्रदेश सभामुख भण्डारीले राजनीतिक दलहरुमा पनि भुगोल, जातियता, प्राकृतिक, सांस्कृतिक पहिचान झल्कने खालका नाममा आफ्नो अडान राख्दा सहमति जुट्न नसकेको दाबी गर्नुभयो ।

उहाँले प्रदेशको नामाकरणका लागि दलहरुको सहमति नै आवश्यक रहेको भन्दै कुनै दलले चाहेर मात्रै नामाकरण गर्न नमिल्ने बताउनु भयो । उहाँले प्रदेशको नाममा सहमति बनाउन दुई तिहाई सांसदहरुको सहमति हुनुपर्ने बताउनु भयो । उहाँले कार्यकाल सकिन लाग्दा समेत प्रदेशको नामाकरण गर्न नसकेकोप्रति दुःख लागेको बताउनु भयो । सर्वदलीय बैठकमा दलको सहमति भएर परिणाम निस्किने गरी मात्रै प्रक्रिया अघि बढाउनुपर्छ भन्ने सहमति भएअनुसार नामाकरणको लागि अहिले कुनै प्रक्रिया अघि नबढाएको बताउनु भयो ।

सात प्रदेशमध्ये प्रदेश–१ को नामकरण प्रदेशसभाको कार्यकाल सकिँदा टुङ्गिने सम्भावना लगभग सकिएको छ । प्रदेशसभाको कार्यकाल करिब तीन महिना मात्र बाँकी छ ।

पछिल्लो समय नामाकरणको विषयमा दलहरुबीच सम्वादविहीनताको अवस्था छ ।