विराटनगर, ३० साउन । थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विराटनगरमा विदाई गरिएको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुलाई विदाई गरेका हुन् । कञ्चनबारी कराँते एकेडेमीले आज आयोजना गरेको कार्यक्रममा मेयर कोइरालाले खेलाडीहरु प्रभाकर रानामगर, रोजन खड्का, परशु कुँवर, सुरज कामत, महेश यादव र साहिल गिरीलाई खादा लगाएर विदाई गरे । विदाई समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदले समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार राखे । उनले खेलकुदमा राम्रो गरे परिवारसँगै राष्ट्रको नाम र इज्जत फैलिने उल्लेख गरे ।
विराटनगर ४ का वडाध्यक्ष जितन थापाले शिक्षा र स्वास्थ्य जस्तै खेलकुद पनि समाजको महत्वपूर्ण अंग भएको बताए । खेलकुदले युवाहरुलाई शारीरिक र मानसिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने वडाध्यक्ष थापाको भनाइ थियो । आगामी अगष्ट १९ देखि २३ तारिखसम्म थाइल्याण्डमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुँदैछ । प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुलाई कञ्चनबारी कराँते एकेडेमीले औपचारिक कार्यक्रम गरेर विदाई गरेको हो ।
कार्यक्रममा एकेडेमीका प्रमुख प्रशिक्षक चन्द्र पराजुली, एकेडेमीका उपाध्यक्ष अर्जुन चुडाललगायतले शुभकामना दिनुभयो ।