मिल्समा सुरु भयो ग्रासरुट फुटबल प्रशिक्षण

विराटनगर, २८ साउन । मिल्स गोल्डकप ट्रष्टले साना बालबालिकालाई लक्षित गर्दै ग्रामरुट फुटबल प्रशिक्षण सुरु गरेको छ ।
विराटनगर महानगरपालिकाको दक्षिण क्षेत्र अर्थात भारतसँग सीमा जोडिएको स्थानका बालबालिकालाई लक्षित गर्र्दै ट्रष्टले ‘ग्रासरुट फुटबल’ प्रशिक्षण सुरु गरेको हो । जुट मिलको मैदानमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षणको सुरुआत गरेका हुन् ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि महानगरपालिका प्रमुख कोइरालाले खेलकुद क्षेत्रको विकासमा विराटनगर महानगरपालिकाले सहयोग गर्ने बताए । उनले खेलकुद क्षेत्रको विकासमा महानगरपालि कहिले पनि पछि नहठ्ने बताए । ‘विगतमा विराटनगर राम्रो खेलाडी उत्पादन गर्ने नगरको रुपमा परिचत थियो,’ प्रमुख कोइरालाले भने, ‘इतिहास भएका कुरालाई अब पुनः वर्तमान बनाउनु पर्छ । त्यसका लागि महानगर सधैँ खेल र खेलाडीको विकासका निमित्त लाग्ने छ । खेलाडी उत्पादन गर्ने नगरको शाख जसरी घट्यो । अब त्यस शाख फकाउन सबै पक्ष लाग्न जरुरी रहेको छ ।’

कार्यक्रममा ट्रष्टका सल्लाहकार किशोर सुब्बाले राज्यले खेलकुद क्षेत्रलाई उपेक्षा गरेको भन्दै यसको विकासमा ३ तहको सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । ग्रासरुट फुटबल प्रशिक्षणको संयोजक डंगोलले मिल्स एरियाको लामो फुटबल इतिहासलाई पुनः फर्काउन फुटबल प्रशिक्षण केन्द्रले ठूलो मद्दत दिने बताए । ‘नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले ग्रासरुट फुटबल प्रशिक्षण थालेका हौं,’ संयोजक डंगोलले भने, ‘हामीले कोरोनाको महामारी अघि पनि प्रशिक्षण गराउँदै आएका थियौं । कोरोनाले गर्दा प्रशिक्षण स्थागित गर्नु परेको थियो ।’

मिल्स एरियाबाट विगतमा धेरै अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडी मात्रै उत्पादन भएनन् उनीहरुले ख्यातीसमेत कमाएको बताउँदै, संयोजक डंगोलले भने, ‘हाम्रो उद्देश्य खेलाडी उत्पादनका साथसाथै एउटा राम्रो समाज निर्माण गर्नु पनि हो । पछिल्लो समय युवापुस्ता लागुऔषध दुव्र्यसनी हुँदै विभिन्न आपराधिक क्रियाकलापमासमेत संलग्न हुँदा अशान्तर्फ जाँदै गरेको समाजलाई रोक्नु हाम्रो दायित्व हो ।’ सीमा क्षेत्रसँग जोडिएको हुँदा यहाँ युवापुस्तालाई लागुऔषबाट टाढा राख्नका लागि पनि खेलकुदको आवश्यकता रहेको छ । खेलकुदमा उनीहरुलाई सानैदेखि संलग्नता गराउँदा राम्रो खेलाडी उत्पादन हुनका साथै एउटा सभ्य समाजसमेत निर्माण हुन्छ ।

२ महिना अघिदेखि प्रशिक्षण सुरु भए पनि शनिबारदेखि औपचारिक रुपमा प्रशिक्षण सुरु भएको हो ।
प्रशिक्षणमा विराटनगरको १२, १३, १४, १५, १६ र १७ वडाका ५ वर्षदेखि १६ वर्षसम्मका ७५ जना खेलाडीले नियमित प्रशिक्षण लिइरहेका छन् ।