कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट भागेका प्रतिवादी पक्राउ

विराटनगर, २७ साउन । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट फरार बनेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१८ झटियाईका ४५ वर्षीय लक्ष्मण दास तत्मालाई पक्राउ गरेको हो । आज दिउँसो १ः१५ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । शौचालय जाने बहाना बनाएर दास कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट गत बुधबार राति १० बजेतिर फरार बनेका थिए । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले लुकिछिपी बसेको अवस्थामा विराटनगर–१४ कटुप्पास्थितबाट दासलाई पक्राउ गरिएको जानकारी दिनु भयो । लेनदेन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत मोरङले उनलाई २०७६ साल वैशाख २९ गते ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।

सजाय भुक्तान नगरिकन भागिरहेका उनी मुद्दा फैसला भएको तीन वर्षपछि साउन २० गते पक्राउ परेका थिए । अदालतमा बुझाउनुअघि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरियो । प्रहरीको निगरानीमा उपचार गराइरहेका दास सुरक्षा एवं निगरानीमा खटिएका प्रहरीलाई नै छलेर फरार बनेका थिए । पक्राउ परेका दासलाई अब कैद सजाय भुक्तानका लागि कारागार चलान गर्न प्रक्रिया अघि बढाइने डिएसपी श्रेष्ठले बताउनु भयो ।