विराटनगर १५ कात्तिक । गत भदौ २४ मा भएको ‘जेनजी आन्दोलन’ का क्रममा कोशी प्रदेशमा आगजनी र तोडफोड हुँदा सरकारी सम्पत्तिमा करिब ७७ करोड रुपैयाँ बराबरको ठूलो क्षति भएको छ ।
कोशी प्रदेश सरकारले गठन गरेको ‘क्षति अध्ययन तथा मूल्यांकन समिति’ ले तयार पारेको प्रतिवेदनले यो विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । प्रतिवेदनले आन्दोलनबाट भएको कुल नोक्सानी र संरचना पुनर्निर्माणमा लाग्ने लागतको विस्तृत विवरण दिएको छ । आन्दोलनबाट भएको कुल ७७ करोडको नोक्सानीमध्ये आधाभन्दा बढी हिस्सा (करिब ५४ प्रतिशत) सवारी साधनमा परेको छ ।
प्रदेश सरकारका विभिन्न निकायका २६५ वटा सवारी साधन मा आगजनी र तोडफोड हुँदा कुल ४१ करोड ५२ लाख ९४ हजार बराबरको क्षति भएको छ । सवारी साधनमा भएको क्षतिको लागतको हिसाबले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सबैभन्दा धेरै नोक्सानी व्यहोरेको छ, जबकि क्षतिग्रस्त सवारी साधनको संख्याको आधारमा भौतिक पूर्वाधार विकास मन्त्रालय सबैभन्दा अगाडि छ ।
सवारी साधनमा भएको क्षतिको ९० प्रतिशतभन्दा बढी हिस्सा मोरङ जिल्लामा केन्द्रित रहेको प्रतिवेदनमा उल्लेख छ । कुल क्षतिमध्ये क्षतिग्रस्त सरकारी भवनहरूको मर्मत तथा पुनर्निर्माणका लागि १८ करोड ४६ लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।
सर्वाधिक नोक्सानीः क्षति व्यहोर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सबैभन्दा अगाडि छ । भवन पुनर्निर्माणमा भने सबैभन्दा ठूलो भार आन्तरिक मामिला तथा कानुन मन्त्रालय मा देखिएको छ, जहाँ ६ करोड ४७ लाख बढी लाग्ने अनुमान छ । यसैगरी, कोशी प्रदेशसभा सचिवालय को क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि पनि ठूलो लागत लाग्ने प्रतिवेदनले देखाएको छ ।