विराटनगर १५ कात्तिक । कात्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।
हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन ।
विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध तथा माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ ।
तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ। तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन ।