


विराटनगर २६ असोज । विराटनगरका भरत डंगोल ६० वर्षको हुनुभयो । २०६२ सालदेखि व्यवसायिक रुपमा चित्रकला मार्फत जिविकोपार्जन गर्दै आउनु भएका उहाँको पेशा अहिले संकटमा परेको छ ।
चित्रकलाको माग हुन छाडेपछि उहाँले व्यवसाय बन्द गर्ने मनस्थिति बनाउनु भएको छ । विराटनगरमा डिके आर्ट सञ्चालन गरेर व्यवसाय गर्दै आउनु भएका उहाँले आर्ट सेन्टरमा रहेका चित्रकलाहरु अहिले नि : शुल्क रुपमा संस्थाहरुलाई मायाको चिनोको रुपमा दिन शुरु गर्नुभएको छ । कार्यालयमै पुगेर चित्रकला दिन शुरु गरेको उहाँले बताउनुभयो ।
चित्रकार डंगोलले भन्नुभयो,‘ चित्रकलाको माग हुन छाड्यो, संस्थालाई मायाको चिनोको रुपमा दिएपछि आफ्नो कला बर्षैं सम्म रहन्छ भन्ने आशा गरेको छु ।’ आइतबार नेपाल पत्रकार महासंघ मोरङलाई गत भदौ २३ र २४ भएको जेनजी आन्दोलनका शहिदहरु प्रति समर्पित गरेर बनाएको चित्रकला मायाको चिनको रुपमा हस्तान्तरण गर्दै उहाँले आर्ट सेन्टरमा रहेका सवै चित्रकला सामाजिक सघसंस्थालाई निःशुल्क वितरण गरिने बताउनुभयो । उहाँका अनुशार अहिले सेन्टरमा ५०–६० वटा छन् । कतिपय चित्रकला व्यक्तिलाई पनि निः शुल्क दिएको उहाँले बताउनुभयो ।
चित्रकलाको प्रोत्साहनमा स्थानीय, प्रदेश सरकारले वेवास्ता गरेको उहाँको गुनासो छ । फ्लेक्स प्रिन्टको शुरुवात सँगै चित्रकला पेशा संकटमा पर्दै गएको उहाँले बताउनुभयो । २०६७ सालमा विराटनगरमा गएको एकल प्रर्दशनीको तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले प्रर्दशनीको उद्घाटन गरेपनि चित्रकलाको प्रर्वद्धनमा सरकारबाट चासो नदिएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो,‘ चित्रकलाको महत्व कसैले बुझेनन् ।’ अर्डर अनुशारको मात्र काम गर्ने उहाँले बताउनुभयो । डंगोलले भन्नुभयो,‘ नम्वर प्लेटको मात्रै काम गर्छु ।’
चित्रकलामा भविष्य नदेखेपछि ४ छोराहरुलाई यो पेशातिर आफुले ल्याउन नचहाएको उहाँले बताउनुभयो । विराटनगरमा ३९ वटा आर्ट सेन्टर रहेकोमा अहिले ४/५ वटा मात्रै दुःखका साथ सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो ।

