सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापालको जिम्मेवारी खोसियो

विराटनगर १३ असोज । घुस खाएको आरोप लागेका सवारी परीक्षण कार्यालय, सुनसरी इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् ।

सेवाग्राहीसँग घुस माग्ने, मोलमोलाहिजा गर्ने लगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालय तानेको हो । कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजश्वसमेत हिनामिना भएको आशंका गरिएपछि उनीहरुलाई मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जनाएको छ ।

कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमितता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङसमक्ष गुनासो प्राप्त भएको थियो । त्यसपछि मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मेवारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए ।

कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिजालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ । छानबिन समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ ।